
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले पुँजी बजारका वर्तमान अवस्था र सुधारका उपायहरूबारे छलफल गर्न आज एक विशेष बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मध्यान्ह १२:०० बजे यो बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पछिल्लो समय पुँजी बजारमा देखिएका चुनौतीहरू र बीमा क्षेत्रको सुदृढीकरणका लागि प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा सरोकारवाला निकायका प्रमुख तथा विज्ञहरूसँग संवाद गर्न लागेका हुन् ।
३८० अंकको गिरावट र ६ खर्ब गुमेपछि सेयर बजारमा शुक्रबार सामान्य आशा देखिएको थियो । सेयर बजारको यही निराशा सम्बोधन गर्न बालेनले सेयर बजारका सरोकारवाला भेट्न लागेका हुन् ।
बैठकमा नियामक निकाय र क्षेत्रगत प्रतिनिधिहरूको महत्त्वपूर्ण उपस्थिति रहनेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुँदैछन् । यस्तै ब्रोकर सञ्चालक प्रियराज रेग्मी र लगानीकर्ता अम्बिका प्रसाद पौडेल पनि बैठकमा सहभागि हुने कार्यक्रम छ ।
बैठकमा मुख्य गरी पुँजी बजारको वर्तमान अवस्थाको समीक्षा गरिनेछ । धितोपत्र व्यवसायलाई थप व्यवस्थित र पारदर्शी बनाउन चालिनुपर्ने कदम र नीतिगत सुधारका प्रयासहरूका बारेमा सहभागीहरूले प्रधानमन्त्रीलाई सुझाव दिनेछन् ।
यस्तै, समग्र राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयहरू र लगानीकर्ताको मनोबल उच्च बनाउन सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा पनि घनीभूत छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।





प्रतिक्रिया