विश्वकप फाइनलमा झ्यापझ्याप बत्ती गएकामा प्राधिकरणले माग्यो माफी

623
Shares

काठमाडौं । फिफा विश्वकप फुटबलको फाइनल खेल चलिरहेको समयमा विद्युत आपूर्तिमा समस्या प्राविधिक कारणले भएको जनाएको छ । नेपाल विद्युत प्राधिकरणले सोमबार विज्ञप्ती जारी गर्दै प्रसारणलाइनमा भएको अवरोधका कारण विद्युत आपूर्तिमा समस्या आएको बताएको छ ।

‘सोमबार बिहान करिब १ः५४ बजे पथलैया–ढल्केवर १३२ केभी प्रसारण लाइनअन्तर्गत पथलैया निकुञ्ज क्षेत्रमा प्रतिकुल मौसमका कारण रूख ढलेपछि विद्युत् प्रसारण प्रणालीमा आंशिक अवरोध सिर्जना भएको थियो । यसले गर्दा प्रसारण सञ्जालमा ‘रिङ ब्रेक’ हुन गई काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा केही समयका लागि विद्युत् आपूर्ति बन्द हुन पुगेको हो,’ प्राधिकरणद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

विश्वकप फुटबलको फाइनलजस्तो विशेष अवसरलाई ध्यानमा राख्दै प्राधिकरणले उपभोक्ताहरूलाई निरन्तर र भरपर्दो विद्युत् उपलब्ध गराउन पहिले नै उच्च सतर्कता अपनाएको बताएको थियो । प्राधिकरणले सम्पूर्ण सबस्टेशनहरू, नो–लाइट सेवा तथा प्राविधिक जनशक्तिलाई ‘हाइ अलर्ट’ मा समेत राखेको जनाएको छ । त्यतिहुँदा पनि निरन्तरको वर्षाका कारण रूख ढलेर अचानक अप्रत्याशित प्राकृतिक विपत्ति उत्पन्न हुँदा प्रणालीमा अवरोध आएको प्राधिकरणको भनाइ छ ।

‘घटनालगत्तै प्राधिकरणका प्राविधिक टोलीहरू तत्काल खटिएर वैकल्पिक व्यवस्था मार्फत विद्युत् प्रणालीलाई यथाशीघ्र पुनः सुचारु गरिसकिएको छ,’ प्राधिकरणले भनेको छ ।

महत्त्वपूर्ण खेल हेरिरहेका बेला अप्रत्याशित रूपमा विद्युत् अवरुद्ध हुँदा खेलप्रेमी महानुभावहरू तथा सम्पूर्ण उपभोक्तावर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले हार्दिक क्षमायाचना व्यक्त पनि गरेको छ ।