न्यूट्रि फुड्सको व्यापार १३ प्रतिशतले बढ्यो, कति गर्यो कारोबार ?


काठमाडौं । न्यूट्रि फुड्सको व्यापार १३ प्रतिशतले बढेको छ । कम्पनीको कारोबार सन् २०२४ को तुलनामा सन् २०२५ मा १३ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले गत आवमा १ अर्ब ५३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ भने सन् २०२४ मा १ अर्ब ३६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२३ मा १ अर्ब ५४ करोड १० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब २९ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले गत आवमा ९.१९ प्रतिशत नाफा मार्जिन गरेको छ । सन् २०२४ मा ६.१६ प्रतिशत गरेको थियो । त्यस्तै, गत आवमा कम्पनीले ४.४८ प्रतिशत खुद नाफा गरेको छ । सन् २०२४ मा ०.१९ प्रतिशत गरेको थियो ।

कम्पनीको पुँजी संरचना मध्यम स्तरमा रहेको छ । कम्पनीको समग्र गियरिङ अनुपातमा सुधार आई १.७२ गुणा कायम भएको छ । सन् २०२४ मा १.७६ गुणा थियो । कम्पनीअनुसार गत आवमा दीर्घकालीन ऋणको भुक्तानी तथा सञ्चित नाफामा भएको वृद्धिका कारण सुधार आएको उल्लेख छ ।

कम्पनीको कुल बाह्य दायित्व तथा ट्यान्जिबल नेट वर्थ अनुपात गत आवमा २.०३ गुणा रहेको छ । सन् २०२४ मा २.०५ गुणा थियो । कम्पनीको ऋण भुक्तानी क्षमतामा उल्लेख्य सुधार आएको छ । कम्पनीको ब्याज भुक्तानी क्षमता अनुपात १.५७ गुणाबाट बढेर गत आवमा ३.२८ गुणा पुगेको छ । त्यसैगरी, ऋण सेवा कभरेज अनुपात पनि सुधार भई १.३० गुणाबाट बढेर २.३४ गुणा पुगेको छ ।

कम्पनीको समग्र क्षमता उपयोगमा पनि सुधार आएको छ । सन् २०२४ मा २७ प्रतिशत क्षमता उपयोग गरेको कम्पनीले गत आवमा ३० प्रतिशत उपयोग गरेको छ । साथै, चालु आवको ९ महिनाको अवधिमा ३१ प्रतिशत उपयोग गरेको छ । बजारमा उत्पादन वस्तुमा माग बढ्दा क्षमता बढेको उल्लेख छ । कम्पनीले आन्तरिक बजारसँगै बंगलादेशमा पनि उच्च माग हुँदा समग्र क्षमता उपयोग बढेको हो ।

सन् २००१ मा पशुपति फ्‌लोर मिल्स नाममा दर्ता भएको कम्पनी सन् २००४ मा पशुपति फ्‌लोर मिल्स प्रालिमा रुपान्तरण गरेको थियो । कम्पनीले पुनः सन् २००६ मा नाम परिवर्तन गरी न्यूट्रि फुड्स प्रालि राखेको थियो । सुनसरीमा रहेको उद्योगले फ्‌लोर, दाल, मकै, बालबालिकाको खाना र जनवारको दानाको प्रशोधन तथा बजारीकरण गर्दै आएको छ ।

कम्पनीले उक्त प्रशोधन गरेको वस्तु सुपरम्यान, फरच्यून र एन्कोर ब्रान्डमा बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनील बालबालिकाको खाना भने न्यूट्रिल्याक ब्रान्डमा बिक्री गर्दै आएको छ ।

शारडा ग्रुपद्धारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८१ करोड ३५ लाख रुपैयाँको रेटिङ गराएको छ ।