महालक्ष्मी विकास बैंकद्वारा ज्ञानेश्वरमा कफि लाउन्जसहितको ‘डिजिटल हब’ सञ्चालन


काठमाडौं । महालक्ष्मी विकास बैंकले बैंकिङ सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ काठमाडौंको ज्ञानेश्वरमा कफि लाउन्जसहितको ‘डिजिटल हब’ सञ्चालनमा ल्याएको छ ।

काठमाडौं महानगरपालिकाको ज्ञानेश्वरस्थित बैंकको कार्यालय भवनमा शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त डिजिटल हबको औपचारिक उद्घाटन गरिएको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले नवनिर्मित डिजिटल हबको उद्घाटन गरेका छन् । बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन तहका पदाधिकारी र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकिङ क्षेत्रमा नवीनतम् प्रयोग गर्ने क्रममा बैंकले कफि लाउन्जको अवधारणा ल्याएको हो ।

यस अन्तर्गत ग्राहकहरूले आरामदायी वातावरणमा कफिको स्वाद लिँदै डिजिटल माध्यमबाट नगद जम्मा गर्ने, चेक क्लियरिङ गर्ने, नगद झिक्ने तथा अन्य विद्युतीय कारोबारहरू सहजै गर्न सक्नेछन् । नेपालको बैंकिङ क्षेत्रमा यस प्रकारको विशिष्ट सेवा प्रदान गर्ने महालक्ष्मी विकास बैंक सम्भवतः पहिलो बैंक भएको दाबी बैंकले गरेको छ ।

डिजिटल प्रविधिको प्रयोगमा युवा पुस्तालाई आकर्षित गर्न र ग्राहकहरू माझ प्रविधिको पहुँच विस्तार गर्न यो हब प्रभावकारी हुने बैंकको विश्वास छ । यहाँबाट डिजिटल बैंकिङ सेवा सम्बन्धी आवश्यक परामर्श समेत प्रदान गरिने भएकाले यसलाई सिकाई र अनुभवको केन्द्रको रूपमा विकास गर्ने बैंकको लक्ष्य छ ।

नेपाल राष्ट्र बैंकको ‘रेगुलेटरी स्यान्डबक्स’ को अवधारणालाई आत्मसाथ गर्दै भविष्यमा वित्तीय सेवामा नयाँ–नया नवप्रवर्तनहरूलाई प्रोत्साहन गर्न र ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न बैंक सधैं प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।