वडा स्तरीय सार्वजनिक सुनुवाइमा विकास व्यवस्थापनको माग पहिलो


काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. ११ का स्थानीयबासीले विकास निर्माणसँगै विकास व्यवस्थापनमा जोड दिन आग्रह गरेका छन् ।

वडाले नागरिकका माझमा आयोजना गरेको चालु आर्थिक वर्षको समीक्षा अर्थात सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्ने स्थानीयले विकासलाई उपयोग योग्य बनाउन व्यवस्थापन योजना चाहिएको बताए ।

‘सडक निर्माण भएको छ । तर, सडकमा निर्माण सामग्री राखेर सवारी साधनलाई व्यवधान भएको छ । खानेपानीको पाइप लाइन छ तर, भनेको समयमा पानी आउँदैन । ढल निकास छ । तर, धेरै ठाउँमा क्षमता कमजोर छ । यहाँ निर्माण भन्दा व्यवस्थापन चाहिएको छ,’ उनीहरूको भनाइ छ ।

सुनुवाईमा सहभागी टोल सुधार समिति र स्थानीयहरूले वडाको भौतिक विकासको दिगो उपयोगका विषय उठान गरे ।

‘सडकका खाल्टा पुरेपछि देखिने दाग सहरकै दाग हो, खाल्टा नै नहुने प्रणाली बनाउनुपर्छ ।’ प्रश्नकर्ताको भनाइ थियो । ‘बर्खामा जलमग्न हुने सडक, साँघुरा ढल र जोखिमपूर्ण बिजुलीका पोलहरू वडावासीका मुख्य चिन्ताका विषय बनेका छन्,’ उनीहरूको भनाइ थियो ।

थापाथलीदेखि बबरमहलसम्मको सवारी चाप, अव्यवस्थित पार्किङ र सडक पेटीमा हुने व्यापारले पैदल यात्री असुरक्षित टिप्पणी पनि आयो । यति मात्र होइन, बिजुली बजारको पुलमुनि हुने लागू औषध दुव्र्यसनीहरूको जमघट र रातको समयमा हुने अश्लिलतालाई नियन्त्रण गर्न स्थानीयले माग गरे ।

नदी किनाराका अव्यवस्थित बसोबासीलाई सरकारले स्थानान्तरण गरेको विषयमा स्थानान्तरित व्यक्तिहरूले, ‘सामान्य जीवन बाँच्न नदिने भए हाम्रो नागरिकता फिर्ता लिनुहोस् र हाम्रै अगाडि च्यातिदिनुहोस् ।’ भनेपछि जवाफमा वडाध्यक्ष हीरालाल तण्डुकारले, वडा कार्यालय सरकारको प्रतिपक्ष नभएको जवाफ दिए । ‘सरकारले लिएका नीति र योजनाहरूको विपक्षमा जनप्रतिनिधि उभिन मिल्दैन, तर हामी समस्याको उचित समाधानका लागि समन्वय गरिरहेका छौँ,’ उनको भनाइ थियो ।

तण्डुकारले प्रश्नहरूको जवाफमा भन्नुभयो, टोल तथा समुदायको विकासका लागि आपसी फरक मत त्यागेर आउनु हामी तत्काल नतिजा दिनेछौँ । विवाद भएका योजना कार्यान्वयन गर्न सकिँदैन । कतिपय समस्या क्षेत्राधिकार वाहिरका छन् । यसमा हामी सम्बन्धित निकायसँग समन्वय र दबाब सिर्जना गरेर नतिजा दिनेछौँ ।

कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले स्थानीय विकासमा वडासँग मिलेर काम गर्न र प्रदेशको बजेटलाई एकीकृत गर्न आफू तयार रहेको बताए । यस्तै, सिंहदरबार प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक जनार्दन घिमिरेले सुरक्षा संवेदनशीलतामा प्रहरी जिम्मेवार रहेको बताउँदै कुनै पनि उच्छृङ्खल गतिविधि देखेमा तत्काल १०० नम्बरमा फोन गर्न आग्रह गरे ।

वडा सचिव धर्मराज भट्टराईका अनुसार चालु आर्थिक वर्षका २९ योजनामध्ये १३ वटा सम्पन्न भइसकेका छन् भने बाँकी निर्माण र मूल्याङ्कनको चरणमा छन् । कार्यक्रम स्थलमा सम्पन्न तथा क्रमागत योजनाको प्रगति विवरण टाँस गरिएको थियो । यस्तै लिखित सुझाव तथा गुनासाहरू पनि लिइएको थियो ।

सुनुवाई कार्यक्रममा टुकुचा खोलाको सुधार, विश्व निकेतन विद्यालय पछाडिको खुला ठाउँलाई खेल मैदान बनाउने जस्ता योजनालाई आगामी वर्षमा कार्यान्वयन गरिने अधिकारीहरूले बताए ।

१.७४ वर्ग किलोमिटर क्षेत्रफल भएको वडाबासी सबैको ढोकामा जनप्रतिनिधिको पहुँच पुगोस् भनेर वडालाई ४ भागमा बाँडेर हरेक क्षेत्र एक जना वडा सदस्यहरूलाई हेर्ने गरी जिम्मेवारी दिइएको छ । उनीहरूको जिम्मेवारी नागरिकका समस्या सुन्ने र समाधान गर्ने हो ।