
एजेन्सी । फिफा विश्वकपमा अमेरिकाका स्टार फर्वार्ड फोलारिन बालोगनलाई देखाइएको रातो कार्डलाई प्रभावकारी रूपमा उल्ट्याउने निर्णयले धेरै अनुत्तरित प्रश्नहरू छोडेको छ ।
बोस्निया–हर्जगोभिना विरुद्धको अन्तिम ३२ को जितमा रातो कार्ड खाएका बालोगन अब सोमबार बेल्जियम विरुद्धको अन्तिम १६ को खेलमा उपलब्ध हुनेछन् । उनी तीन गोलका साथ यस प्रतियोगितामा अमेरिकाका शीर्ष स्कोरर हुन् ।
विश्वकपको इतिहासमा अहिलेसम्म १८९ पटक रातो कार्ड दिइएको छ र दुई खेलाडीले मात्र निलम्बन भोग्नु परेन ।
अर्को घटना सन् १९६२ मा भएको थियो जब ब्राजिलका ग्यारिन्चालाई चिली विरुद्धको सेमिफाइनलमा मैदान बाहिर पठाइएको थियो तर उनले चेकोस्लोभाकिया विरुद्धको फाइनल खेल खेलेका थिए ।
तर, त्यतिबेला स्वतः प्रतिबन्धको नियम थिएन । यो निर्णय अधिकारीहरूले दिएको प्रमाणको आधारमा समितिले गर्थ्यो ।
सन् १९६२ मा फिफा अनुशासन समितिको निर्णय बाह्य राजनीतिक हस्तक्षेपका आरोपहरूले घेरिएको थियो ।
ह्वाइट हाउस र फिफा बीचको सुस्थापित घनिष्ठ सम्बन्धलाई ध्यानमा राख्दै सह–आयोजकको पक्षमा गरिएको यो अत्यन्त असामान्य निर्णयमाथि प्रश्नहरू उठ्नेछन् ।
सीबीएस न्यूजले पुष्टि गरेअनुसार, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीबार फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर निलम्बनको बारेमा कुरा गरेपछि बालोगनको पुनरागमन भएको हो ।
के यसले फुटबलमा एउटा नयाँ नजिर पनि बसाल्छ ?
किन बालोगनलाई माफी दिइयो जबकि यस विश्वकपमा रातो कार्ड पाएका अन्य ११ खेलाडीहरू सबैले निलम्बन भोगेका छन् ?
के यसले फुटबलमा रातो कार्डहरू नियम अनुसार जायज हुँदाहुँदै पनि निलम्बन फुकुवा गराउनका लागि थप अपीलहरू निम्त्याउनेछ ?
विश्वकपको अर्को रातो कार्डपछि टेलिभिजन कभरेजमा खेलाडीले अर्को खेल गुमाउनेछ लेख्दा अब ढुक्क हुन नसकिने हो ?
फिफाको अनुशासन संहिताले बालोगनले गम्भीर खराब खेलका लागि कम्तीमा दुई खेलको प्रतिबन्ध पाउनुपर्ने बताउँछ ।
वास्तवमा, विश्वकपका नियमहरूले टोलीहरूलाई रातो कार्ड विरुद्ध अपील गर्न अनुमति दिँदैनन् ।
फिफाको विज्ञप्तिले बालोगनको प्रतिबन्ध निलम्बन गर्नुको कुनै कारण वा स्पष्टीकरण दिएको छैन । यसले केवल फिफा अनुशासन संहिताको धारा २७ लाई उद्धृत गरेको छ ।
धारा २७ ले फिफालाई अनुशासनात्मक उपायको कार्यान्वयनलाई पूर्ण वा आंशिक रूपमा निलम्बन गर्न अनुमति दिन्छ ।
यो एउटा विस्तृत नियम हो जसले फिफालाई कुनै पनि अन्य मापदण्ड पूरा नगरी प्रभावकारी रूपमा आफूले चाहेको निर्णय गर्न अनुमति दिन्छ ।
विश्वकपमा यसअघि धारा २७ कहिल्यै प्रयोग गरिएको थिएन ।
बीबीसी स्पोर्ट्सले यस बारेमा सोध्दा प्रतियोगिता अघि क्रिस्टियानो रोनाल्डोको निलम्बित प्रतिबन्धतर्फ संकेत गरियो ।
फिफाको अनुशासन संहिता अन्तर्गत नोभेम्बरमा रिपब्लिक अफ आयरल्यान्डसँग पोर्चुगलको २–० को हारका क्रममा दारा ओ’शालाई कुहिनोले हानेकोमा रोनाल्डोले तीन खेलको प्रतिबन्ध पाउनुपर्ने थियो ।
उनले आर्मेनिया विरुद्धको अन्तिम छनोट खेलमा एक खेलको प्रतिबन्ध भोगे तर बाँकी दुई खेलको प्रतिबन्ध निलम्बित गरियो ।
तर, रोनाल्डोको रातो कार्ड छनोट चरणमा प्राप्त भएको थियो । यो विश्वकपको रातो कार्ड थिएन ।
प्रतियोगिताअघि खेलाडीहरूलाई केही उदारता देखाइएका धेरै उदाहरणहरू छन् ।
सन् २०१४ मा फ्रान्सका लरेन्ट कोसि एल्नी वा यस विश्वकप अघि इक्वेडरका मोइसेस काइसेडो र अर्जेन्टिनाका निकोलस ओटामेन्डीलाई हेर्नुहोस् ।
कम्तीमा रोनाल्डोको हकमा हामीलाई केही औचित्य दिइएको थियो । त्यसमा फिफाले भनेको थियो, ‘उनको अन्य २२५ अन्तर्राष्ट्रिय खेलहरूमा कुनै रातो कार्ड थिएन ।’
बालोगनको हकमा हामीले त्यो पनि पाएनौं ।
यसले जानकारीको अभाव सिर्जना गरेको छ र अड्कलबाजीलाई मात्र प्रश्रय दिन्छ ।
यो किन एउटा विशेष घटना थियो ? कुन कुराहरूलाई ध्यानमा राखियो ? यो निर्णय कसले गर्यो ?
रेफ्रीले निलम्बन हटाउन आग्रह गरेको वा भिडियो सहायक रेफ्रीको प्रोटोकल पालना नगरिएको भन्ने कुनै संकेत छैन भनी बीबीसी स्पोट्र्सलाई भनिएको छ ।
बेल्जियम क्रुद्ध छ । उनीहरूले आइतबार विज्ञप्ति जारी गर्दै बालोगनलाई खेल्न अनुमति दिइएकोमा आफूहरू स्तब्ध भएको बताएका छन् ।
बेल्जियम फुटबल संघले धेरै नियमहरू, कार्यशाला प्रस्तुतीकरणहरू र प्रतियोगिता पूर्वका समन्वय बैठकहरूको सन्दर्भ दिएको छ ।
यो निर्णय प्रतियोगिताको नियम विपरीत रहेकोमा उनीहरू अडिग छन् । त्यसमा स्पष्ट भनिएको छ– एक खेलाडी आफ्नो टोलीको अर्को खेलबाट स्वतः निलम्बित हुनेछ ।
वास्तवमा फिफाले प्रतियोगिताका नियमहरूलाई छल्ने गरी आफ्नो अनुशासन संहिता प्रयोग गरेको उनीहरू बताउँछन् ।
बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सियाले पत्रकार सम्मेलनमा अझ अगाडि बढेर भने, ‘मलाई थाहा थिएन फिफा विश्वकपमा जुलाई ५ अब अप्रिल १ भएको छ र त्यो अप्रिल फूल हो ।’
‘हामी राष्ट्रिय टोली वा संघको रक्षा गरिरहेका छैनौं । हामी फुटबलको रक्षा गरिरहेका छौं ।’
यस प्रतियोगितामा रातो कार्ड पाएका अन्य खेलाडीहरूले के सोचिरहेका होलान् ?
कतारका असिम माडिबोलाई लिनुहोस् । उनी दुर्भाग्यपूर्ण घटनामा संलग्न थिए जसका कारण क्यानाडाका मिडफिल्डर इस्माइल कोनेको खुट्टा भाँचिएको थियो ।
यहाँ स्पष्ट देखिन्छ– माडिबोले खराब ट्याकल गरेका थिएनन् । चोट संयोगवश भएको थियो ।
तैपनि फिफाले माडिबोलाई पाँच खेलको प्रतिबन्ध लगायो । त्यो गम्भीर खराब खेलका लागि दिइने मानक सजायभन्दा थप तीन खेल बढी हो ।
के बालोगनको निर्णयले नजिर कायम गर्छ ?
बालोगनलाई भिडियो सहायक रेफ्री (ख्ब्च्) को पुनरवलोकन पछि मैदानबाट बाहिर पठाइएको थियो ।
के बालोगनले पाएको रातो कार्ड कठोर थियो ? पक्कै पनि ।
बालोगनले तारिक मुहारेमोभिचसँग बलका लागि प्रतिस्पर्धा गरिरहेका थिए र अन्जानमा उनको खुट्टा बोस्नियाली खेलाडीको गोलीगाँठामा परेको थियो।
कठोर हुनुको मतलब यो गलत निर्णय थियो भन्ने होइन ।
के फिफाले अब अनजानमा भएको कार्यका कारण दिइएको कुनै पनि रातो कार्ड पछिको निलम्बन खारेज गर्नुपर्छ ?
प्रशिक्षकहरूले तर्क गर्नेछन्, ‘नजिर बसिसक्यो, अब एकरूपता हुनुपर्छ ।’
नियतलाई धेरै वर्ष पहिले नै नियमहरूबाट हटाइएको थियो र केवल ट्याकलको परिणामलाई मात्र विचार गरिनुपर्ने प्रावधान छ ।
बालोगनको निर्णयले घरेलु लिगहरूमा पनि चिन्ता थपेको छ।
विश्वकपमा पहेंलो कार्डको अभाव, भारको कार्यान्वयन र नयाँ नियमहरूको व्याख्यालाई लिग स्तरमा दोहोर्याउन असम्भव मानिन्छ ।
र प्रशंसकहरूले लिगमा पनि त्यस्तै अपेक्षा गर्नेछन् ।
बालोगनको प्रतिबन्ध खारेज गरेर फिफाले उनीहरूका लागि काम झन् गाह्रो बनाइदिएको छ ।
फिफाले जस्तै फुटबल संघले किन उदारता देखाउन सक्दैन ?
निश्चित रूपमा साइमन्सले भोगेका जस्ता अत्यधिक प्रतिबन्धहरूलाई पुनरवलोकन गरिनुपर्ने होइन र ?
निर्णयमा ट्रम्प कसरी संलग्न थिए ?
फिफाको विश्वकप अनुशासन प्रक्रियाको एउटा आधारस्तम्भ यो हो कि तपाईं अपील गर्न सक्नुहुन्न ।
फिफाले आयोजक राष्ट्रको स्टार खेलाडीका लागि किन एउटा विशेष परिस्थिति सिर्जना गर्यो ?
रातो कार्ड र निलम्बनले अमेरिकामा ठूलो आक्रोश पैदा गरेको थियो ।
स्ट्राइकरलाई एक खेल र अर्को खेलको लगभग एक तिहाइ (बोस्निया विरुद्धको अन्तिम २७ मिनेट र बेल्जियम विरुद्धको खेल) गुमाउन लगाएर दोहोरो सजाय दिइएको भनी अमेरिकामा दाबीहरू गरिएका थिए । अमेरिकाका मिडिया टिप्पणीकारहरूले यसलाई घोर अन्यायपूर्ण भनेका थिए ।
मिडिया र अमेरिकी प्रशासनबाट दबाब थियो । विदेशमन्त्री मार्को रुबियोले त्यस रातो कार्डले अमेरिकालाई धोका भएको र अपील प्रक्रियाको आवश्यकता रहेको बताएका थिए ।
तर, फिफाले अचानक दिएको विशेष छुटले उनलाई खेल्न अनुमति दिनेछ ।
सीबीएस स्रोतहरूका अनुसार, ट्रम्पले इन्फान्टिनोसँग सिधै छोटो कुराकानी गरेका थिए ।
इन्फान्टिनोले राष्ट्रपतिलाई फिफाको अनुशासन समितिले यसबारे हेर्ने बताएका थिए ।
ह्वाइट हाउसको विश्वकप टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्रु जुलियानीले पनि इन्फान्टिनोसँग यसबारे कुरा गरेका थिए र वाणिज्यमन्त्री हावर्ड लटनिक पनि फिफासँग सम्पर्कमा थिए ।
आइतबार साँझ ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै ‘ठूलो अन्याय उल्ट्याएको’ मा फिफालाई धन्यवाद दिए ।
फिफाको आचार समितिले ट्रम्पलाई फिफा शान्ति पुरस्कार दिने सम्बन्धमा इन्फान्टिनोले राजनीतिक तटस्थताको नियम तोडेको भन्दै पहिले नै अनुसन्धान गर्न माग गरिसकेको छ ।
विश्व फुटबलको सर्वोच्च निकायको विधानले फुटबलमा राजनीतिक हस्तक्षेपलाई निषेध गरेको छ ।
अमेरिकी प्रशासन यसमा संलग्न भएसँगै थप प्रश्नहरूको जवाफ दिनुपर्नेछ ।
तर, त्यसभन्दा पहिले सबैको नजर सोमबार बेल्जियम विरुद्धको खेलमा बालोगन र अमेरिकामाथि हुनेछ ।






प्रतिक्रिया