देशमा तोडफोड, हिंसा, आगजनी र लुटपाटलाई वैधानिकता दिने काम भयोः ओली

35
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिने काम भएको बताएका छन् ।

मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बर्बाद भएको र त्यसै कारण खेलकुद लगायतका कुनै पनि क्षेत्र गतिका साथ अघि बढ्न नसकेको तर्क समेत गरे ।

अध्यक्ष ओलीले आफूले अनेक क्षेत्रबाट मुलुकलाई अघि बढाउने प्रयत्न गरेको भए पनि वर्तमान सरकारले देशलाई बर्बादीको बाटोमा अघि बढाएको आरोप लगाए । उनले आम जनताले न्याय पाउने गरी आफूहरूले देशलाई फेरि अघि बढाउने दाबी समेत गरे ।

‘खेलाडीहरूमा देशभक्ति चाहिन्छ । देशको प्रतिष्ठाका लागि खेलाडीहरूले कसरी ज्यान फालेर खेलेका हुन्छन् । हामी हरेकमा देशभक्ति चाहिन्छ । हामीले त्यसलाई बुझ्नुपर्दछ । देश विकसित भएन भने मलाई खेलसँग मतलब छ, अरूथोक भनेर देश नै बर्बाद छ भने खेल मात्रै कसरी अघि बढ्छ र ? नेपालको हालत त्यही भएको त हो । हामीले देशलाई अगाडि बढाउन खोज्यौँ । भुइँचालोले ध्वस्त बनायो, हामीले त्यसलाई उठायौँ । कोभिडले ध्वस्त पार्न खोज्यो, त्यसलाई हामीले उठायौँ । अर्थतन्त्र ध्वस्त अवस्थाबाट हामीले माथि उठायौँ र विभिन्न क्षेत्रहरू शिक्षा, स्वास्थ्य, खेल लगायत अनेकलाई हामीले यत्नपूर्वक अघि बढाउने प्रयास गऱ्यौँ । तर त्यो कुरा सह्य भएन,’ ओलीले भने, ‘विभिन्न शक्तिहरूले त्यसलाई संवैधानिक हिसाबले ढाल्न नसकेपछि असंवैधानिक हिसाबले, उपद्रवको हिसाबले तोडफोड, हिंसा, आगजनी, लुटपाट जस्ता कुराहरूबाट सरकार ढाल्ने बाटो समातियो । त्यसलाई वैधानिकता दिने काम भएको छ । तर देशलाई हामी फेरि शान्तिपूर्ण नेपाल, भयमुक्त नेपाल, साँच्चै सबै जनताले न्याय पाउने नेपाल, सबैलाई माया गर्ने व्यवस्था र प्रणालीबाट फेरि अगाडि बढाउनेछौँ । म साथीहरूलाई त्यही भन्न चाहन्छु ।’