आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्ने गरी मौद्रिक नीति आउँछ : डेपुटी गभर्नर पण्डित

217
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आगामी आर्थिक वर्षको मौद्रिक नीति सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य र मूल्य एवं बाह्य क्षेत्रको स्थायित्वबीच सन्तुलन कायम गर्ने गरी आउने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पण्डितले राष्ट्र बैंक बजेटकै मर्म अनुसार मौद्रिक नीतिको अन्तिम तयारीमा रहेको बताए ।

उनले नीति निर्माण तह र वास्तविक क्षेत्र (किसान, साना उद्यमी र भुइँतहका नागरिक) बीच ठूलो खाडल (डिस्कनेक्ट) रहेको महसुस गरिएको बताउँदै त्यसलाई पुर्न आवश्यक रहेको बताए । ‘साँच्चै किसान र भुइँतहका नागरिकका समस्या के हुन? ती कुरा नीति निर्माणको टेबलसम्म आइपुग्नुपर्छ । मिडिया र यस्ता फोरमहरूले यो दूरी मेटाउन पुलको काम गर्नुपर्छ,’ डेपुटी गभर्नर पण्डितले भने, ‘मौद्रिक नीतिलाई केवल असार र साउनको दौडादौडको विषय मात्र बनाउन हुँदैन । नीतिगत सुधारका लागि वर्षैभरि छलफल हुनुपर्छ ।’

बजारमा मौद्रिक नीतिप्रति बढेका अपेक्षाहरूलाई संकेत गर्दै उनले राष्ट्र बैंकले आफ्ना सीमाहरूभित्र बसेर काम गर्ने स्पष्ट पारेका छन् । सबै समस्याको समाधान मौद्रिक नीतिले मात्र गरिदियोस् भन्ने सोचले कहिलेकाहीँ नियामकिय सुधारका कार्यलाई प्रभावित गर्न सक्ने भन्दै उनले त्यसतर्फ सचेत हुनुपर्ने बताए ।

डिजिटल बैंकिङ, ओपन बैंकिङ, बैंक र फिनटेकबीचको साझेदारी तथा डिजिटल ठगी नियन्त्रणका लागि ‘ट्रान्ज्याक्सन मोनिटरिङ’ जस्ता विषय प्राथमिकतामा रहनुपपर्ने उनले बताए । आर्थिक वृद्धिका लागि मौद्रिक नीति लचिलो बन्दाबन्दै पनि राष्ट्र बैंकले आफ्ना ‘प्रुडेन्सियल मेजर्स’ (विवेकशील नियमन) लाई निरन्तरता दिने र न्यारेटिभका पछि नलागी अर्थतन्त्रको आवश्यकता अनुसार अघि बढ्ने उनले स्पस्ट पारे ।