नेपाल भित्रने सबै स्मार्टफोनमा ५जी, टेलिकम कम्पनीहरु तयार नहुँदा प्रयोगमा अनिश्चिता


काठमाडौं । तीन वर्ष पहिले फाइभजी चल्ने मोबाइल सेटको अभावमा परीक्षण गर्न नसकेको नेपाल टेलिकमले बजारभरी फाइभजीकै सेट हुँदा भने कुनै तयारी नै गरेको छैन ।

बजारमा अहिले भित्रने सबै सेटहरुमा फाइभजी एक्सेस हुने गरेका छन । नेपालमा भित्रने माेबाइलकाे सबैभन्दा ठूलो हिस्सा खपत रहेकाे समासुङका शत् प्रतिशत सेट फाइभजीका हुने गरेका छन् । मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपक मल्हाेत्राले पछिल्लो समय आएका सबैजसो फोनमा फाइभजी चल्ने बताए । नेपालमा सुमसुङको बिक्रेता आईएमएस ग्रुपका अध्यक्षसमेत रहेका मल्होत्राले एक वर्ष अगाडिदेखि नै सबै फोन फाइभजी चल्ने क्षमता भएर आएका छन् ।

उनले भने पहिले जस्तो बाहाना बनाउने टेलिकम कम्पनीलाई फाइभजी चलाउन मोबाइल सेटले राेक्ने अवस्था छैन । पछिल्लो ११ महिनामा नेपालमा २० लाख थान मोबाइल आयात भएका छ्न । यी मोबाइलमध्ये स्मार्टफोन सबैमा फाइभजी एक्सेस छ । यस अघि भित्रिएका अधिकांश महंगा सेटमासमेत फाइभजी चल्ने भएकोले बजारमा पर्याप्त मात्रामा नयाँ प्रविधिको एआई फिचरका सेट भएको पनि मल्होत्राले बताए ।

नेपाली प्रयोगकर्ता फाइभजी चलाउन तयारी अवस्थामा छन् । अन्तर्राष्ट्रिय स्तरमा ६जीको प्रयोग भइरहँदा नेपाल भने फाइभजीमै प्रवेश गर्न नसक्नुले उपभोक्ताको प्रविधि चलाउन पाउने अधिकार हनन भइरहेको पनि तर्कसमेत आउन थालेका छन ।

यसअघि काठमाडौं, पोखरा र विराटनगरमा कर्मचारीभित्र सीमित रहेर गरेको नेपाल टेलिकमको फाइभजी परीक्षण सर्वसाधारणसमक्ष जान भने अझै सकेको छैन। ३ वर्षअगाडि ५ प्रतिशत पनि नभित्रिएको फाइभजी सपोर्ट गर्ने यस्ता सेट अहिले नेपाली बजारमा २० प्रतिशतभन्दा बढी पुगेकाे अवस्थामा अझै परीक्षण मै सिमित हुनुपर्ने बाध्यता रहेको टेलिकम कम्पनीको भनाइ छ ।

तर नेपालमा टेलिकम सेवाप्रदायक भने फाइमजीमा जान अझै इच्छुक छैनन् । महंगो प्रविधि भएकोले सुरुमै गर्नुपर्ने धेरै लगानीका कारण पनि सेवाप्रदायक तयार नभएको बताइरहेका छन् ।

टेलिकम कम्पनीलाई नेपालमा फाइभजी चलाउन अहिलेको संरचनाल पुग्दैन । यसका लागि पूर्वाधारमा लगानी बढाउनुपर्छ । पूर्वाधारमा लगानी बढाएर भएको फोरजीको गुणस्तर सुधार गर्दै फाइभजीका लागि तयार हुनुपर्छ । नेपालका टेलिकम कम्पनीले फाइभजी चलाउन ६० अर्ब भन्दा बढी लगानी गर्नुपर्छ । यो लगानी अनुसारको प्रतिफल पाउन भने तत्कालै सक्ने अवस्था पनि हुँदैन ।

नेपाल टेलिकमका फाइभजी प्रविधिको व्यावसायिक सुरुवातका लागि मोबाइल सेटको अभावका कारण हुन नसकेको परीक्षण आगामी एक वर्षभित्रै महानगरबाट गर्ने तयारी भने गरिरहेको टेलिकमकै कर्मचारी बताउँछन् ।

टेलिकमका अनुसार विगतमा सेटको कमीले रोकिएको ५जी सेवामा अझै फ्रिक्वेन्सी (स्पेक्ट्रम) र उच्च लगानीको चुनौती रहेको भए पनि सर्वसाधारणलाई दिने सेवा र नयाँ प्रविधिलाई आत्मसात् गर्ने गरी काठमाडौं, पोखरा र विराटनगरसहितका महानगरबाट आम सर्वसाधारणलाई प्रयोग गर्न दिने गरी परीक्षण गर्ने तयारीमा टेलिकम रहेको भने बताएको छ ।

टेलिकमले २०८० वैशाखमा काठमाडौं, पोखरा र विराटनगरसहितका प्रमुख सहरी क्षेत्रमा फाइभजीको आन्तरिक परीक्षण गरेको थियो । त्यतिबेला सर्वसाधारणलाई सेवा परीक्षण गर्न दिँदा सेटको अभाव थियो भने हाल २० प्रतिशतभन्दा बढी ग्राहकसँग फाइभजी ह्यान्डसेट पुगिसकेकाले अब भने परीक्षणमा समस्या नभएपनि त्यसको तयारी भने अझै पूरा हुन नसकेको टेलिकको भनाइ छ ।

त्यसो त सरकारले नै सहजीकरण नगरेका कारण सेवाप्रदायकले ४जीबाट ५जीको लागि अपग्रेड गर्न सकिरहेका छैनन् । सरकारी स्वामित्वको टेलिकमले नै यस अघि सरकारले नै फाइभजीको लागि आवश्यक इक्युपमेन्ट आयातमा सहयोग नगरेको गुनासो गर्दै आएको थियो । सरकारले सहजीकरण नगरेकै कारण निजी क्षेत्रको माेबाइल सेवाप्रदायक कम्पनी एनसेलले फाइभजीमा रुची नदेखाएको हो ।

नेपाल टेलिकमका सहप्रवक्ता प्रक्षेप थापाका अनुसार टेलिकम कम्पनीले नचाहेर फाइभजी नल्याएकाे होइन् । हामीले चाहेर पनि सेवाप्रदायकको क्षमता, ठूलो लगानी र त्यसबाट पाउने प्रतिफल, नियामकको अनुमित, सरकारको सहजीकरण चाहिने सहितका कारण रोकिएको छ ।

थापाका अनुसार टेलिकमले तत्कालै देशभर फाइभजी पुर्‍याउनु महँगो पर्ने भएकाले सुरुमा प्रमुख सहरहरूलाई प्राथमिकता दिने रणनीति बनाएको बताए। फाइभजी चलाउनु भनेको निकै महँगो प्रविधि लन्च गर्नु पनि भएकोले बजारको आवश्यकतासहित लगानी अनुसारको प्रतिफल पनि हेर्नुपर्ने उनले भनाइ छ ।

हाल फोरजीको नेटवर्क बनाउन जति लगानी गर्नुपरेको छ, त्योभन्दा फाइभजीका लागि ३ देखि ५ गुणासम्म बढी खर्च लाग्ने अध्ययनले देखाएको छ । त्यसैले काठमाडौं र पोखरा जस्ता महानगरहरूबाट मात्रै तत्काल सुरुवात गर्न आन्तरिक तयारी भइरहेको छ ।

त्यसो त नेपालमा ५जी सञ्चालनका लागि फ्रिक्वेन्सी (स्पेक्ट्रम) को समेत उपलब्धता नभएको गुनासो टेलिकमले गरेको छ । ग्लोबल इकोसिस्टममा जुन स्पेक्ट्रम बढी चलिरहेको छ, त्यही ल्याउन सकियो भने मात्र सबै मोबाइल सेटमा नेपाल टेलिकमको ५जी सहजै चल्न सक्ने बुझाइ टेलिकमकै अधिकारी बताउँछ ।

भौगोलिक र प्राविधिक चुनौतीहरू कायम रहेको अवस्थामा देशभर एकैपटक फाइभजी पुर्‍याउन भने टेलिकम कम्पनीहरुलाई सहज भने छैन ।

फाइभजी सञ्चालनका लागि हाल भइरहेको स्पेक्ट्रम पर्याप्त नहुने भएकाले टेलिकमले नयाँ स्पेक्ट्रम चाहेको छ । यसका लागि सरकारलाई जानकारीसमेत गराइसकेको टेलिकमको भनाइ छ ।

टेलिकमले मागको फ्रिक्ववेन्सी सबै प्रकारका फाइभजी सेटमा सेवा चल्ने सुनिश्चित गर्न विश्वव्यापी रूपमा बढी प्रचलनमा रहेको ब्यान्ड प्राप्त गर्ने गरी नियामक निकायसँग प्रक्रिया अघि बढाइएको पनि जानकारी दिएको छ ।