
काठमाडौं । नेपाल डेरी एसोसिएसनले यो वर्षको असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा देशभर करिब ७५ लाख लिटर दही खपत हुने प्रक्षेपण गरेको छ ।
स्वदेशी उत्पादनको प्रवर्द्धन र मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ एसोसिएसनले यस वर्ष करिब १ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखेको हो ।
नेपालमा असार १५ लाई धान दिवसका साथै दही-चिउरा खाने पर्वका रूपमा विशेष महत्त्वका साथ मनाइन्छ ।
दहीमा पाइने प्रोटिन, क्याल्सियम र भिटामिन बी-१२ ले पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउँछ ।
पछिल्लो समय बजारमा कृत्रिम पेय पदार्थको प्रभाव बढे पनि शरीरलाई शीतलता दिने परम्परागत मोही र दहीको व्यावसायिक पुनर्जागरणमा एसोसिएसनले जोड दिएको छ ।
एसोसिएसनले बिहीबार एक कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिएको हो ।
एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले ‘दही-चिउराको स्वाद, स्वदेशी उत्पादनको साथ: किसान र उद्योगीको सम्मान, समृद्ध नेपालको अभियान’ भन्ने मूल नाराका साथ असार १५ कार्यक्रम मनाउन लागिएको जानकारी दिए ।
उनले सम्पूर्ण नेपालीलाई स्वदेशी दुग्धजन्य पदार्थको प्रयोग बढाउन र नेपाली किसानको मेहनतलाई प्राथमिकता दिन आह्वान समेत गरेका छन् ।
असार १५ मा हुने दहीको ठूलो खपतले दुग्ध उत्पादक किसान, सहकारी र उद्योगीलाई प्रत्यक्ष आर्थिक लाभ पुर्याउने गर्दछ । यसले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याए पनि उत्पादन लागतमा वृद्धि, बजार व्यवस्थापन र किसानलाई समयमै भुक्तानी हुनुपर्ने जस्ता चुनौतीहरू अझै विद्यमान रहेको दाहालले जानकारी दिए ।






प्रतिक्रिया