वर्षायाममा लुगाबाट आउने ओसिएको गन्ध आयो ? यी उपाय अपनाउनुस्


मनसुनको आगमनसँगै गर्मीबाट राहत त मिलेको छ, तर दैनिक कामकाजमा भने केही चुनौतीहरू थपिएका छन् ।

विशेषगरी यो मौसममा लुगा धुने र सुकाउने काम निकै झन्झटिलो बन्ने गर्छ ।

आकाशमा बादल लागिरहने र घामको अभाव हुने भएकाले लुगाहरू राम्ररी सुक्न पाउँदैनन् । जसका कारण लुगाबाट एक किसिमको नमिठो ओसिएको गन्ध आउन थाल्छ। यस्तो गन्धले गर्दा सफा लुगा लगाउँदा पनि असहज महसुस हुने गर्छ ।

लुगालाई दुर्गन्धबाट बचाउन केही सरल तर प्रभावकारी उपायहरू अपनाउन सकिन्छ ।

सबैभन्दा पहिले, धोएका लुगाहरूलाई धेरैबेरसम्म वासिङ मेसिन वा बाल्टिनमा गुम्स्याएर राख्नु हुँदैन। लुगा धुनेबित्तिकै यसलाई फैलाएर सुकाउनुपर्छ । यदि बाहिर पानी परिरहेको छ भने घरभित्रै पंखा मुनि वा हावा ओहोरदोहोर हुने खुल्ला ठाउँमा लुगा फैलाउनु उपयुक्त हुन्छ ।

लुगा सुकाउँदा एउटामाथि अर्को नखप्ट्याई अलि टाढा-टाढा राख्नाले हावा खेल्न पाउँछ र छिटो सुक्छ ।

लुगा धुँदा पनि विशेष सावधानी अपनाउन सकिन्छ। दुर्गन्ध हटाउन डिटर्जेन्टका साथमा थोरै भिनेगर वा बेकिङ सोडाको प्रयोग गर्नु निकै प्रभावकारी मानिन्छ ।

यसले लुगामा भएका ब्याक्टेरिया नष्ट गर्नुका साथै गन्धलाई सोसेर लिन्छ। साथै, बजारमा पाइने सुगन्धित फेब्रिक कन्डिसनरको प्रयोगले लुगालाई नरम र ताजा राख्न मद्दत गर्छ ।

लुगा सुकिसकेपछि पनि त्यसलाई राख्ने तरिकामा ध्यान दिनु जरुरी छ ।

लुगा पूर्ण रूपमा सुकेको सुनिश्चित गरेर मात्र दराजमा पट्याएर राख्नुपर्छ। दराज भित्रको ओस र गन्ध हटाउन कपुरको गोली, सिलिका जेल वा सुकेको निमको पात राख्न सकिन्छ ।

वर्षायाममा लुगाको ओसिएको गन्ध हटाउने अर्को एउटा प्रभावकारी तरिका भनेको लुगालाई उल्टो पारेर धुनु पनि हो । यसो गर्नुको कारण के हो भने, पसिना र शरीरको फोहोर लुगाको बाहिरी भागमा भन्दा भित्री भागमा बढी टाँसिएको हुन्छ ।

यी उपायहरू अपनाउँदा वर्षायाममा पनि तपाईंका लुगाहरू गन्धरहित र ताजा रहनेछन् ।

Skip This