
एजेन्सी । चीनको एउटा प्रभावशाली प्रोटेस्टेन्ट चर्चले आफ्ना दुई नेताहरूलाई हिरासतमा लिइएको बताएको छ ।
बालबालिकासहित दर्जनौं अनुयायीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएपछि ती नेताहरूलाई हिरासतमा लिइएको हो ।
दक्षिण–पश्चिमी सहर चियाङ्युमा आइतबारको प्रार्थना चलिरहेका बेला सशस्त्र प्रहरी अधिकारीहरू उनीहरू भएको कोठामा छिरेका थिए, अर्ली रेन कोभिनेन्ट चर्चले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सन् २००८ मा छङ्तु शहरमा स्थापना भएको यो चर्च चिनियाँ कम्युनिस्ट पार्टीको निगरानीमा रहँदै आएको छ किनभने त्यस क्षेत्रमा धर्ममाथि कडा नियन्त्रण गरिन्छ ।
संस्थापक पास्टर वाङ यीलाई डिसेम्बर २०१८ मा छापा मारेर हिरासतमा लिइएको थियो र उनी राज्यको सत्ता पल्टाउन उक्साएको र अवैध व्यापारिक गतिविधि गरेको आरोपमा नौ वर्षको जेल सजाय भोगिरहेका छन् ।
आइतबार चर्चका दुई नेता यान होङ र वु वुकिङलाई हिरासतमा लिनुको कारण अझै स्पष्ट हुन सकेको छैन, चर्चले टेलिग्राममा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ । चिनियाँ अधिकारीहरूले हालसम्म यस विज्ञप्तिमा कुनै प्रतिक्रिया वा टिप्पणी गरेका छैनन् ।
चर्चले केही तस्बिर र भिडियोहरू पनि साझा गरेको छ जसमा अनुयायीहरूलाई एउटा होटलको बलरुममा स्वाट (विशेष हतियार र रणनीतिक एकाइ) अधिकारीहरूको टोलीले घेरेको अवस्थामा बसिरहेको देख्न सकिन्छ । केही सदस्यहरूको अनुमान अनुसार, स्थानीय समय अनुसार बिहान ११ बजे भएको सो छापा मार्ने कार्यमा कम्तीमा ५० जना प्रहरी अधिकारीहरू उपस्थित थिए ।
३० भन्दा बढी सदस्य र नेताहरूलाई प्रहरीका धेरै सवारी साधनहरूमा जबर्जस्ती लगिएको र चियाङ्यु हिरासत केन्द्रमा सोधपुछ गरिएको चर्चले जनाएको छ । यस प्रक्रियाको क्रममा उनीहरूले संगति गरे, भजन गाए र अधिकांश मानिसहरू रिहा नभएसम्म प्रार्थना गरे,’ चर्चले थप्यो ।
वृद्धवृद्धा र बालबालिकासहित बाँकी अनुयायीहरूलाई बलरुममा थुनेर राखिएको र उनीहरूको परिचय जाँच गरिएको चर्चले बताएको छ । भिडियो क्लिपहरूमा केही अनुयायीहरूले भजन गाइरहेको देखिन्छ जबकि सादा पोशाकका एक अधिकारीले मञ्चमा चढेर उनीहरूलाई बारम्बार चुप लाग्न कराइरहेका थिए ।
अर्ली रेन कोभनेन्ट चर्चका केही अनुयायीहरू कुर्सीमा बसिरहेका छन् भने अरूहरू, जसमा धेरैजसो पुरुष छन्, प्रहरी अधिकारीहरूले लैजानका लागि लाइनमा उभिएका छन् । केही सदस्यहरूको अनुमान अनुसार, छापा मार्ने क्रममा कम्तीमा ५० प्रहरी अधिकारीहरू उपस्थित थिए ।
प्रहरीले बलरुममा रहेका मानिसहरूलाई रिहाइको बदलामा एउटा शपथपत्रमा हस्ताक्षर गराउन खोजेको चर्चले बताएको छ । तर, उक्त शपथपत्रमा के थियो भन्ने कुरा खुलाइएको छैन । अनुयायीहरूले हस्ताक्षर गर्न अस्वीकार गरे र अन्ततः ६ बजे उनीहरूलाई रिहा गरियो ।
यान र वु बाहेक सोधपुछका लागि लगिएका अन्य व्यक्तिहरूलाई आइतबार ९ देखि ११ बजेको बीचमा रिहा गरियो । ती दुई धर्मप्रचारकहरूलाई यसअघि पनि अधिकारीहरूले हिरासतमा लिएका थिए । सबैभन्दा पछिल्लोपटक गत जनवरीमा उनीहरूलाई झगडा सुरु गरेको र समस्या निम्त्याएको आरोपमा प्रहरीले बोलाएको थियो ।
चिनियाँ अधिकारीहरूले सन् २०१८ मा देशमा ४ करोड ४० लाख क्रिस्चियनहरू रहेको बताएका थिए तर यो संख्यामा भूमिगत चर्चहरूमा जाने मानिसहरू समावेश छन् वा छैनन् भन्ने स्पष्ट छैन । कम्युनिस्ट पार्टीले क्रिस्चियनहरूलाई सरकारद्वारा स्वीकृत पास्टरहरूको नेतृत्वमा रहेका राज्य–अनुमोदित चर्चहरूमा मात्र सामेल हुन दबाब दिन्छ ।
धार्मिक स्वतन्त्रताको पक्षमा आवाज उठाउनेहरू धेरै वर्षदेखि भूमिगत चर्चहरू (जसलाई हाउस चर्च पनि भनिन्छ) तर्फ आकर्षित भएका छन् तर क्रिस्चियन समूहहरू सरकारको पकड निकै कडा भएको छ र गिरफ्तारीहरू सामान्य बन्दै गएका छन् ।
‘आइतबारको छापा चिनियाँ कम्युनिस्ट पार्टीले शान्तिपूर्ण क्रिस्चियन प्रार्थनालाई राज्यको नियन्त्रणका लागि खतराका रूपमा व्यवहार गरिरहन्छ भन्ने अर्को एउटा कडा उदाहरण हो,’ धार्मिक उत्पीडनको निगरानी गर्ने नाफा नकमाउने संस्था चाइना एडका संस्थापक बब फु भन्छन् ।
गत वर्ष अक्टोबरमा चीनको अर्को सबैभन्दा ठूलो भूमिगत चर्चमध्येको एक जायन चर्चका ३० जना नेताहरूलाई सातवटा शहरहरूबाट नियन्त्रणमा लिइएको थियो । यसका संस्थापक एज्रा जिन अझै पनि हिरासतमा छन् ।









प्रतिक्रिया