
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले र इरानसँगको सम्झौतामा हर्मुज जलयोजक पुनः सञ्चालन गर्ने ऐतिहासिक प्रारम्भिक सम्झौताको घोषणा भएसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र ग्यासको मूल्यमा भारी गिरावट आएको छ ।
तर, बजारमा देखिएको यस उत्साहका बीच विश्लेषकहरूले सम्झौतामा रहेका केही गम्भीर संरचनागत त्रुटिहरूतर्फ औंल्याएका छन् । त्यसले पश्चिम एसियामा पुनः तनाव बढाउन सक्ने देखिएको छ ।
ट्रम्प प्रशासन र तेहरानबीच भएको समझदारी पत्रले ६० दिनको कूटनीतिक समयसीमा तोक्दै तत्कालका लागि सैन्य मुठभेड अन्त्य गर्ने लक्ष्य राखेको छ । चुहिएका विवरणहरू अनुसार, यो सम्झौता इरानका लागि निकै लाभदायक देखिएको छ ।
सम्झौताअन्तर्गत इरानले विभिन्न देशमा रोक्का रहेको आफ्नो कुल २४ अर्ब अमेरिकी डलरमध्ये १२ अर्ब डलर तत्काल फिर्ता पाउनेछ । यसका साथै लेबननमा हिजबुल्लाह विरुद्ध भइरहेको कारबाहीसहित सबै मोर्चाहरूमा पूर्ण युद्धविराम गर्ने प्रस्ताव गरिएको छ ।
तर, यस सम्झौताको सबैभन्दा विवादास्पद पक्ष भनेको इजरायलको पूर्ण बहिष्करण हो । युद्धको एक प्रमुख पक्ष भए तापनि बेन्जामिन नेतन्याहू नेतृत्वको सरकारलाई यो वार्ता प्रक्रियामा सहभागी गराइएको छैन ।
इजरायलका लागि यो सम्झौता रणनीतिक पराजय मानिएको छ किनभने यसले इरानलाई ठूलो आर्थिक राहत दिनेछ तर इजरायलको सुरक्षा चासोलाई सम्बोधन गर्दैन ।
इजरायलले सम्झौताप्रति आफ्नो कडा असहमति सैन्य कारबाहीमार्फत नै देखाउन सुरु गरिसकेको छ । सम्झौताको घोषणा भएको केही घण्टाभित्रै आइतबार इजरायलले लेबननको राजधानी बेरुतको दक्षिणी भेगमा भीषण हवाई आक्रमण गरेको छ ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायली डिफेन्स फोर्स कुनै पनि समय सीमा बिना परिचालन रहने स्पष्ट पारेका छन् । त्यस्तै कट्टरपन्थी मन्त्री इतामार बेन–ग्विरले इजरायल अमेरिकाको मातहतमा नरहेको र आफ्नो सुरक्षाका लागि स्वतन्त्र निर्णय लिने चेतावनी दिएका छन् ।
कूटनीतिक विश्लेषकहरूले यस सम्झौतालाई शान्तिको भ्रमको संज्ञा दिएका छन् । इजरायलसँगको समन्वय अभाव र उसको सैन्य सक्रियताका कारण आगामी शुक्रबार हुने भनिएको औपचारिक हस्ताक्षर अगाडि नै तनाव थप चर्कने सम्भावना छ ।
इजरायलले आफ्ना आक्रमणहरूलाई तीव्रता दियो भने हर्मुज जलमार्ग पुनः युद्धको मैदानमा परिणत हुन सक्ने र अहिले घटेको तेलको मूल्य पुनः आकासिन सक्ने खतरा देखिएको छ ।









प्रतिक्रिया