
काठमाडौं । नेपालले आज रातिदेिख बंगलादेशमा बिजुली निर्यात गर्दै छ ।
लामो समयको कूटनीतिक र प्राविधिक तयारीपछि नेपालले भारतीय प्रसारण लाइन प्रयोग गरी बंगलादेशमा औपचारिक रूपमा जलविद्युत् निर्यात सुरु गरेको हो ।
बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीका अनुसार, ऊर्जा व्यापारको यो नयाँ सिजन सोमबार मध्यरातदेखि सुरु हुँदैछ ।
दुई देशबीच भएको सम्झौता अनुसार प्रत्येक वर्षको जुन १५ (असारको मध्य) देखि नोभेम्बर १५ (कात्तिकको मध्य) सम्म नेपालले बंगलादेशलाई बिजुली उपलब्ध गराउनेछ ।
यो समय नेपालका नदीहरूमा पानीको बहाव बढेर विद्युत् उत्पादन उच्च हुने पिक सिजन हो भने बंगलादेशमा अत्यधिक गर्मीका कारण बिजुलीको माग उच्च हुने समय हो ।
यस ऐतिहासिक अवसरमा राजदूत भण्डारीले भने, ‘ऊर्जा साझेदारीको यो नयाँ सिजन आज मध्यरातदेखि सुरु हुँदैछ । यो हाम्रा लागि अत्यन्तै सुखद क्षण हो र यस साझेदारीले औपचारिक रूप लिएकोमा म हर्षित छु ।’
नेपालले सुरुवाती चरणमा ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्न लागेको हो । तर, यो परिमाण बंगलादेशको बढ्दो ऊर्जा आवश्यकता र नेपालको विशाल जलविद्युत् क्षमताको तुलनामा निकै कम देखिन्छ ।
यस विषयमा प्रस्ट पार्दै राजदूत भण्डारीले थपे, ‘४० मेगावाट परिमाणका हिसाबले सानो देखिए तापनि यसको सांकेतिक महत्त्व निकै ठूलो छ । यो यस क्षेत्रमा आफ्नो किसिमको पहिलो व्यापार हो र यसले महत्त्वपूर्ण कोशेढुंगा स्थापना गरेको छ । भविष्यमा यस व्यापारको आकार अझै बढ्दै जानेमा हामी आशावादी छौं ।’
नेपाल र बंगलादेशबीच सिधा सीमा नभएका कारण नेपालको बिजुली भारतीय भूमिमा रहेको प्रसारण लाइन (मुजफ्फरपुर–बहराइच र इनरुवा–पूर्णिया लिंक) हुँदै बंगलादेशको भेरमारामा रहेको हाई भोल्टेज डाइरेक्ट करेन्ट स्टेसनमा पुग्नेछ । यसका लागि नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपिसी विद्युत् व्यापार निगम र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच त्रिदेशीय सम्झौता भएको थियो ।
यो सुरुवातसँगै नेपालले भारतबाहेक तेस्रो देशमा पहिलोपटक बिजुली निर्यात गरेको छ । यसले दक्षिण एसियामा बीबीआईएन (बंगलादेश, भुटान, भारत, नेपाल) फ्रेमवर्कअन्तर्गत क्षेत्रीय ऊर्जा ग्रिड निर्माण गर्ने लक्ष्यमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपालले बंगलादेशलाई प्रतियुनिट करिब ६.४० अमेरिकी सेन्टमा बिजुली बिक्री गर्ने सम्झौता गरेको छ जसबाट नेपालले वार्षिक रूपमा उल्लेख्य विदेशी मुद्रा आर्जन गर्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया