उल्लेख्य खर्च बढ्दा हिमालयन रि–इन्स्योरेन्स नोक्सानीमा

105
Shares

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको नाफामा ठूलो गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको (साउनदेखि चैतसम्मको) वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ४ अर्ब ४३ करोड ५२ लाख रुपैयाँले ऋणात्मक (घाटामा) रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीको खुद नाफा ९८ करोड ९३ लाख रुपैयाँ थियो ।

प्रकाशित वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको चैतसम्म ४ अर्ब १८ करोड ९ लाख रुपैयाँ बराबरको खुद बिमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा भने ४ अर्ब ३ करोड ९६ लाख रुपैयाँ बराबरको मात्रै खुद बिमाशुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च चालु आवको सोही अवधिमा भने ४ अर्ब ९० करोड ७४ लाख रुपैयाँ पुगेको छ । अर्थात्, गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा चालु आवको सोही अवधिको कम्पनीको कुल खर्च करिब १ अर्ब १९ करोड रुपैयाँले बढी देखिन्छ ।

कम्पनीको पुनर्बिमा व्यवसायका लागि गरिने कमिसन खर्चमा भने केही कमी आएको छ । गत वर्षको नौ महिनामा ८८ करोड ३० लाख रुपैयाँ कमिसन वापत खर्च भएकोमा चालु आवको सोही अवधिमा भने घटेर ८५ करोड ४४ लाख रुपैयाँ कायम भएको छ ।

गत वर्षको चैतसम्म कम्पनीको दाबी भुक्तानी रकम २ अर्ब २८ करोड रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा भने त्यसबाट बढेर ३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । खर्चमा उच्च वृद्धि हुँदा कम्पनीको कुल आम्दानी संकुचन आएको छ । गत आवको नौ महिनामा ५ अर्ब २० करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी चालु आवको सोही अवधिमा भने घटेर ४ अर्ब ७२ करोड ८१ लाख रुपैयाँमा खुम्चिएको छ ।

कम्पनीको कुल बिमा दायित्व भने गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा ८ अर्ब ९९ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी १२.६८ रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा भने त्यसबाट घटेर ०.५४ रुपैयाँ ऋणात्मक भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५०.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३६३.६२ गुणा ऋणात्मक रहेको देखिन्छ ।

Skip This