
एजेन्सी । लोयड्स लिस्ट इन्टेलिजेन्सका अनुसार, अमेरिकी जलसेनासँग सुटुक्क समन्वय गर्दै विगत तीन हप्तामा पर्सियाली खाडीमा फसेका करिब ४० वटा जहाजहरू हर्मुज जलयोजकबाट बाहिरिएका छन् ।
केही जहाज मालिकहरूले आफ्ना पारवहन योजनाहरू बहराइनस्थित नेभल कोअपरेशन एन्ड गाइडेन्स फर शिपिङ समूहमा बुझाइरहेका छन्, लोयड्स लिस्टका प्रधान सम्पादक रिचर्ड मिडले बिहीबार एक ब्रिफिङमा बताए ।
अमेरिकी जलसेनाले व्यापारिक जहाजहरू विरुद्ध आउने खतराहरूलाई रोक्ने सीमित आश्वासन दिइरहेको अनुमान गरिएको मिडले बताए ।
‘पारवहन सम्बन्धी निर्णयहरू पूर्णतया जहाज सञ्चालकहरूकै हातमा रहन्छन्,’ मिडले भने, ‘उद्योग सञ्चालकहरूले हामीलाई बताए अनुसार उनीहरूलाई केन्द्रीय रूपमा समन्वय गरिएको छैन ।’
अमेरिकी सेनाले हर्मुजमा व्यापारिक जहाजहरूलाई एस्कर्ट (सुरक्षा दिएर लैजाने काम) गरिरहेको छैन, एक रक्षा अधिकारीले सीएनबीसीलाई बताए । अधिकारीका अनुसार, उनीहरूले जलयोजकबाट स्वतन्त्र र सुरक्षित रूपमा यात्रा गर्न चाहने जहाजहरूसँग सञ्चार र समन्वय मात्र गरिरहेका छन् ।
हर्मुजबाट हुने जहाज पारवहन अझै पनि युद्धअघिको स्तरभन्दा निकै कम छ । लोयड्स लिस्टका अनुसार, मे महिनामा यो समुद्री मार्गको ट्राफिक इरान युद्धकै सबैभन्दा न्यून विन्दुमा झरेको थियो ।
मे महिनाको सुरुमा राष्ट्रपति डोनल्ड ट्रम्पले प्रोजेक्ट फ्रिडम नामक अल्पकालीन अमेरिकी जलसेना मिसन अचानक बन्द गरिदिएका थिए । खाडीमा फसेका जहाजहरूलाई हर्मुज हुँदै सुरक्षा दिएर निकाल्नु त्यसको उद्देश्य थियो ।
हर्मुजको तोकिएको मार्ग प्रयोग गर्न तेहरानको अनुमति नपाएसम्म खाडीमा रोकिएका जहाजहरूले इरानी सेनाको आक्रमणको जोखिम सामना गर्नुपर्छ । ती जहाजहरूले इरानसँग सहकार्य गरेमा अमेरिकी प्रतिबन्धको जोखिम पनि रहन्छ ।
यसै साताको सुरुमा हर्मुज र त्यसको आसपासका क्षेत्रमा अमेरिकी र इरानी सेनाबीच झडप भएको थियो जसका कारण लगानीकर्ताहरू युद्धविराम भंग भएर पूर्णस्तरको युद्ध सुरु हुने चिन्तामा पर्दा तेलको मूल्यमा केही समयका लागि वृद्धि भयो ।
अमेरिकको सेन्ट्रल कमान्डले मंगलबार बताए अनुसार, इरानले क्षेत्रीय जलक्षेत्रबाट कानुनी रूपमा यात्रा गरिरहेका सर्वसाधारण नाविकहरूतर्फ तीनवटा आक्रमणकारी ड्रोन प्रहार गरेपछि दोहोरो गोली हानाहान सुरु भएको थियो । अमेरिकी सेनाले ती ड्रोनहरू खसाले र केशम टापुमा रहेका इरानी सेनाहरू विरुद्ध आत्मरक्षाका लागि आक्रमण गरेको सेन्टकमले भन्यो ।
त्यसपछि इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक मिसाइलहरू प्रहार गर्यो जुन या त लक्ष्यसम्म पुग्न सकेनन् वा बीचमै रोकिए भनी सेन्टकमले जानकारी दियो । कुवेतको विदेश मन्त्रालयका अनुसार, बुधबार तेहरानले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्दा एकजनाको मृत्यु भयो र अन्य घाइते भए ।
विदेशमन्त्री मार्को रुबियोले बुधबार व्यापारिक जहाजहरूमाथिको इरानी आक्रमणको अमेरिकाले जवाफ दिनैपर्ने बताए । ड्रोनहरू सटीक नहुने र जहाजको कुनै पनि भागमा लाग्न सक्ने भएकाले यसले वातावरणीय विपत्तिको जोखिम निम्त्याउने रुबियोको भनाइ थियो ।
‘उनीहरूले ती जहाजहरूमा गोली चलाउँदैनन् भने हामी पनि चलाउँदैनौं तर हामीले जवाफ दिनैपर्छ,’ रुबियोले सदनको वैदेशिक सम्बन्ध समितिमा भने ।









प्रतिक्रिया