क्यानका पूर्वडीजी प्रदीपको बयान: बाबालाई अख्तियार प्रमुख लगायतको फोटो पठाएर ‘चाम्टा’ हान्न लगाएँ

10.2k
Shares

नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक प्रदीप अधिकारीले अख्तियार प्रमुख प्रेमकुमार राईमाथि धम्कीको योजनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

सरकारी वकील कार्यालयले अदालतमा पेश गरेको अभियोग पत्रमा अधिकारीले आफूलाई ‘राष्ट्रको इमान्दार सेवक’ दाबी गर्दै इन्कारी बयान दिएका हुन् ।

अधिकारीले मुख्य प्रतिवादी प्रकाश पाठकसँगको कुनै पनि सम्बन्धलाई इन्कार गरेका छन् । ‘मेरो प्रतिवादी प्रकाश पाठकसँग प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि चिनजान, सम्पर्क र कुनै किसिमको सम्बन्ध छैन । निजलाई ‘ईजीएन’को लेटरहेडमार्फत धम्कीपूर्ण पत्र पठाउन मैले लगाएको छैन । प्रकाश पाठकले मेरो विरुद्धमा दिएको बयान पूर्णतः झुटो हो,’ अधिकारीले भनेका छन् ।

आफू विरुद्ध लागेका भ्रष्टाचारका मुद्दाहरूमा अनुचित प्रभाव पार्न आफूले कहिल्यै कुनै आपराधिक समूहको सहारा नलिएको बयान दिएका छन् ।

अधिकारीको मोबाइलमा भारतीय नागरिक सरया किन्नैरा (जय जगदम्बे गुरु) लाई अख्तियार प्रमुख प्रेमकुमार राई, आयुक्त सुमित्रा श्रेष्ठ र अन्य उच्च पदस्थहरूको फोटो पठाएको भेटिएको थियो । तर अधिकारीले आयुक्तहरूले आफूप्रति सकारात्मक सोच राखून् र काममा बाधा नआओस् भनेर मात्र फोटो पठाएर पूजापाठ गराउन लगाएको बताएका छन् ।

‘मैले निज गुरुलाई फोटो पठाएर पूजापाठ गरिदिनु भनेको हुँ। ‘चfम्टा’ शब्दको अर्थ हानि नोक्सानी पुऱ्याउने नभई पूजापाठको एक पद्धति हो। मैले आयुक्तहरूले मप्रति सकारात्मक सोच राखून् र मेरो काममा बाधा नआओस् भनेर मात्र फोटो पठाएको हुँ,’ उनले भनेका छन् ।

उनले ‘ये दुष्ट औरत’ भन्ने ह्वाट्सएप सन्देशका बारेमा सोधिएको प्रश्नमा त्यो नितान्त व्यक्तिगत र धार्मिक संवाद भएको र कसैलाई मार्ने नियत नभएको दाबी गरे।

श्रीमती सुफल केसीसँग भएको कुराकानीमा उल्लेखित ‘३०-४०’ र छिमेकी जेनु थापाकोमा पठाइएको सुटकेसबारे अधिकारीले जेनजी आन्दोलनका बेला शैक्षिक कागजात, लालपुर्जा र ३०-४० हजार रुपैयाँ जोगाउन खोजेको दाबी गरेका छन् ।

‘जेन-जी आन्दोलनका बेला मेरो घरमा भौतिक आक्रमण हुने र घर जलाइदिने धम्की आएको थियो। त्यसैले शैक्षिक कागजात, जग्गाको लालपूर्जा, गहना र घर खर्चका लागि राखिएको ३० देखि ४० हजार रुपैयाँ मात्र जोगाउन सुटकेस छिमेकीकोमा राख्न पठाएको हुँ। ह्वाट्सएपमा भनिएको ३०-४० को अर्थ हजार हो, करोड होइन।’ बयानमा उनले भनेका छन् ।

प्रतिवादी चाँदमाला श्रेष्ठसँगको कुराकानीमा उल्लेखित ‘९९ करोड’ बारे अधिकारीले प्राविधिक जवाफ दिएका छन् । ‘यो नितान्त कार्यालयको कामसँग सम्बन्धित छ। नेपाल सरकार, चीनको एक्जिम बैंक र क्यानबीच भएको सम्झौता अनुसार पोखरा विमानस्थलको ऋण भुक्तानीका लागि ‘एस्क्रो एकाउन्ट’ खोलिएको हो। यो बैंकमार्फत हुने नियमित प्रक्रिया हो, कुनै अवैध कारोबार होइन।’

मिडिया म्यानेजमेन्टका लागि दिएको रकम पनि आफ्नै तलबबाट खर्च गरेको उनले बयानमा उल्लेख गरेका छन् ।

रवि सिंघललाई ५ लाख रुपैयाँ दिएको विषयमा अधिकारीले स्वीकार गरे पनि त्यसलाई व्यक्तिगत प्रतिरक्षाका रूपमा अर्थ्याएका छन् ।

‘मेरो विरुद्धमा आएका भ्रामक समाचारहरूको खण्डन गर्न र क्यानको राम्रो कामको प्रचार गर्न मैले रवि सिंघललाई ५ लाख रुपैयाँ पेश्की दिएको हुँ। यो रकम मैले मेरो व्यक्तिगत तलब भत्ताबाट जोगाएको पैसाबाट नगदै दिएको हुँ। यसमा प्राधिकरणको औपचारिक निर्णय छैन।’

प्रहरीले उनको मोबाइलबाट बरामद गरेका धम्कीपूर्ण पत्रका ड्राफ्ट र अन्य डिजिटल प्रमाणहरूलाई अधिकारीले ‘स्विकार्न नसकिने’ बताएका छन् । उनले भनेका छन्, ‘मेरो मोबाइल र पासवर्ड अख्तियारको नियन्त्रणमा रहेको बेला डाटा परिवर्तन भएको हुन सक्छ। त्यसैले म हाल फरेन्सिक रिपोर्ट सनाखत गर्न असमर्थ छु,’ उनले भनेका छन् ।

अधिकारीले आफ्नो बचाउमा आफ्नो शैक्षिक योग्यता र योगदानको पनि चर्चा गरेका छन् । आफूले सिभिल इन्जिनियरिङमा एमई गरेको र दुर्गम स्थानमा समेत विमानस्थल बनाएकोले फसाउन खोजिएको उनको आरोप छ ।

‘म पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङमा एम ई गरेको र हाल अर्थशास्त्रमा विद्यावारिधि गर्दै गरेको विद्यार्थी हुँ। मैले मनाङ, मुगु, डोल्पा, पोखरा र भैरहवा जस्ता दुर्गम र सुगम ठाउँमा सफल रूपमा विमानस्थल निर्माण गरेको छु। मलाई रिसइवीका कारण फसाउन खोजिएको छ,’ बयानमा भनिएको छ ।

प्रदीप अधिकारीले आफूलाई ‘निशाना’ बनाइएको दाबी गरे पनि अभियोग पत्रमा भने उनीमाथि संगठित अपराध, ज्यान मार्ने उद्योग, हुण्डी, र आपराधिक लाभ जस्ता गम्भीर मुद्दाहरूमा मुख्य अभियुक्तका रूपमा हदैसम्मको सजाय माग गरिएको छ ।