कक्रोच जनता पार्टीका संस्थापक दिप्के भारत आउने, शिक्षामन्त्री विरुद्ध हडताल गर्ने

455
Shares

एजेन्सी । अमेरिकामा रहेका कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेले सोमबार आफू जुन ६ मा भारत फर्कने र परीक्षासँग सम्बन्धित कमजोरीहरूलाई लिएर केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन सुरु गर्ने बताएका छन् ।

इन्स्टाग्राममा सार्वजनिक गरिएको एउटा भिडियोमा दिपकेले समर्थक र विद्यार्थीहरूलाई दिल्लीमा आफ्नो विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।

‘हामी सबै एकजुट हुने, भारतको संविधानको मार्ग पछ्याउने र धर्मेन्द्र प्रधानको राजीनामा माग गर्न शान्तिपूर्ण रूपमा आवाज उठाउने समय आएको छ । हामीले मिलेर आवाज उठायौं भने उनीहरूले पक्कै पनि हाम्रो कुरा सुन्नुपर्नेछ,’ उनले भने ।

दिपकेले जुन ६ मा विमानस्थलमा आफूसँगै सहभागी हुन समर्थकहरूलाई आग्रह गरे ।

‘मैले शनिबार बिहान जुन ६ मा दिल्ली आइपुग्ने निर्णय गरेको छु । कृपया मलाई विमानस्थलमा साथ दिनुहोस् र हामी सँगै संसद् मार्ग स्थित प्रहरी चौकीमा पुगेर जन्तर मन्तरमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न अनुमति माग्न जानेछौं,’ उनले भने ।

भिडियोमा दिपकेले परीक्षासँग सम्बन्धित विवाद र अवरोधहरूले विद्यार्थीहरूलाई चिन्तित बनाएको आरोप लगाउँदै सरकारसँग जवाफदेहिताको माग गरे ।

दिपकेद्वारा स्थापित युवा केन्द्रित सामाजिक सञ्जाल अभियान कक्रोच जनता पार्टीले स्थापनादेखि नै निकै चर्चा पाएको छ र यसमा धेरै सार्वजनिक व्यक्तित्वहरू जोडिएका छन् ।