बजेटले शिक्षामा रूपान्तरण र खेलकुदमा सुशासनको जग बसालेको मन्त्री सस्मित पोखरेलको दाबी

63
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षको बजेटमार्फत शिक्षा क्षेत्रमा रूपान्तरणको जग र खेलकुदमा सुशासनको आधार तय गर्न खोजिएको बताएका छन् ।

बजेट सार्वजनिक भएपछि आफ्नो धारणा राख्दै उनले यो बजेट केवल विनियोजन मात्र नभएर ज्ञान, सीप, नवप्रवर्तन र युवा शक्तिमार्फत नेपाली सपनाको आधार निर्माण गर्ने सङ्कल्प भएको उल्लेख गरे ।

मन्त्री पोखरेलले शिक्षा क्षेत्रका लागि कुल २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

उनले विद्यालयको राष्ट्रिय नक्साङ्कन, शैक्षिक पूर्वाधारको अडिट, शिक्षक क्षमता परीक्षणका साथै एआई तथा ‘एड टेक’ तत्परता मूल्याङ्कनमार्फत गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रणालीको रूपान्तरणका लागि प्रमाणमा आधारित जग हाल्न खोजिएको बताए । बजेटमा विद्यालय केन्द्रित शिक्षा प्रणालीलाई जोड दिँदै छात्रवृत्तिका लागि ८ अर्ब ६० करोड रुपैयाँ र सामुदायिक विद्यालय पूर्वाधार म्यापिङका लागि १ अर्ब रुपैयाँ छुट्याइएको उनले जानकारी दिए ।

उनले अनुसन्धान र नवप्रवर्तनमुखी उच्च शिक्षालाई विशेष प्राथमिकता दिइएको बताउँदै चिकित्सा, नर्सिङ र सूचना प्रविधि शिक्षामा कोटा वृद्धि गरिने उल्लेख गरे । अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई नेपालमा आकर्षित गर्ने नीति, सीपमूलक शिक्षा र पारिश्रमिकसहितको इन्टर्नसिप प्रणालीले नयाँ पुस्तालाई विश्व प्रतिस्पर्धाका लागि तयार गर्ने उनको विश्वास छ । मन्त्री पोखरेलले एआई र गणितलाई नयाँ शैक्षिक आधार बनाउन खोजिएको समेत जानकारी दिए ।

खेलकुद क्षेत्रतर्फ कुल ४ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरिएको बताउँदै उनले आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रङ्गशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्ने लक्ष्य राखिएको बताए ।

यस्तै, प्रमुख ८ शहरमा आधुनिक क्रिकेट रङ्गशाला र ७ शहरमा इनडोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिने उनले उल्लेख गरे । खेल प्रतिभालाई विद्यालय तहबाटै पहिचान गरी आवासीय प्रशिक्षणको व्यवस्था गर्ने, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचार दिने तथा खेललाई राष्ट्रिय गौरव, युवा विकास र अर्थतन्त्रसँग जोड्ने नीति बजेटले लिएको उनले बताए ।

स्रोतको सीमा र समयको चापका बिचमा बनेको यो बजेट सुधारको आधार मात्र भएको र अझै धेरै गर्न बाँकी रहेको उनले स्वीकार गरे । मन्त्री पोखरेलले रूपान्तरणकारी बजेटको नेतृत्व गरेकोमा अर्थमन्त्रीलाई विशेष धन्यवाद दिँदै बजेट निर्माणमा संलग्न सबैलाई धन्यवाद समेत दिए ।