चिनियाँ विद्युतीय सवारीसाधन निर्माता नियोले नयाँ एसयूभी ल्याएपछि सेयर १० प्रतिशतले बढ्यो

112
Shares

एजेन्सी । चिनियाँ इलेक्ट्रिक कार कम्पनी नियोले तीव्र प्रतिस्पर्धात्मक बजारमा प्रिमियम सवारीसाधनहरूको स्तर उकास्ने प्रयास गरिरहेको छ ।

कम्पनीले बुधबार आधिकारिक रूपमा आफ्नो ईएस९ एसयूभी सार्वजनिक गरेपछि बिहीबार हङकङको कारोबारमा नियोको सेयर १०.४५ प्रतिशत सम्मले बढेको छ । यसको अमेरिकी सूचीकृत सेयर अघिल्लो रात ९.३२ प्रतिशतले बढेर बन्द भएको थियो । त्यसले सन् २०२६ का लागि वृद्धिलाई निरन्तरता दिएको छ ।

नियोको ब्याट्री सब्स्क्रिप्सन मोडेल अन्तर्गत ईएस९ को सुरुवाती मूल्य ३ लाख ९० हजार युआन (८८ लाख २३ हजार रुपैयाँ) तोकिएको छ । यसले सवारीसाधनको मूल्यलाई मासिक ब्याट्री भुक्तानीबाट अलग गर्छ ।

यसले चीनको इलेक्ट्रिक कार बजारमा जारी मूल्य घटाउने प्रतिस्पर्धालाई झल्काउँछ यद्यपि बेइजिङले इन्भोल्युसन भनिने अत्यधिक प्रतिस्पर्धालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । चीनको प्यासेन्जर कार एसोसिएसनका अनुसार, वर्षको पहिलो चार महिनामा नयाँ ऊर्जा सवारी साधनको बिक्री १७ प्रतिशतले घटेको छ ।

चिनियाँ कार बजारले पहिले नै आफ्नो सबैभन्दा तीव्र वृद्धिको समय पार गरिसकेको छ किनकि अधिकांश सम्भावित ग्राहकहरूले कार किनिसकेको नियोका सीईओ विलियम लीले बिहीबार पत्रकारहरूलाई बताए ।

ईभी मोडलहरूमा प्राविधिक विशेषताहरू समान हुँदै गएकाले लीले ब्रान्ड र लक्षित प्रिमियम नै अस्तित्व जोगाउने मुख्य आधार हुने बताए ।

नियोले सन् २०२३ को अन्त्यमा आफ्नो प्रमुख ईटी९ सेडान सार्वजनिक गर्दा यसको सुरुवाती मूल्य ८ लाख युआन थियो । तर, सन् २०२५ को पहिलो त्रैमासिकमा डेलिभरी सुरु हुनुअघि नै इलेक्ट्रोनिक्स कम्पनी शाओमीले २ लाख १५ हजार ९०० युआनमा आफ्नो पहिलो इलेक्ट्रिक कार सार्वजनिक गरिसकेको थियो ।

नयाँ ईएस९ लाई नियोले चीनको सबैभन्दा ठूलो एसयूभी भएको दाबी गरेको छ । यसको डेलिभरी बिहीबारबाट सुरु भएको छ ।

सीईओ लीले बेइजिङमा आयोजित एक कार्यक्रममा सडक संकेतहरूमा प्रतिक्रिया दिन सक्ने उन्नत ड्राइभर–असिस्ट प्रणालीदेखि लिएर हवाईजहाजमा जस्तै खुल्ने टेबल भएका यात्रु सिटहरूसम्मका विशेषताहरू देखाए । ईएस९ मा कारभित्रै पानी उमाल्ने मशिन पनि छ । यसले यात्रुहरूलाई चिया बनाउन मद्दत गर्छ ।

नियोले धेरै ब्रान्ड प्रवर्धकहरूलाई अनुबन्ध गरेको छ जसमा ब्याट्री उद्योगका दिग्गज कम्पनी सीएटीएलका सीईओ रोबिन जेङ पनि समावेश छन् । उनले एक मार्केटिङ भिडियोमा आफ्ना करिब २ हजार कर्मचारीहरूले नियो कार किनेको पुष्टि गरे ।

लीले ईएस९ ले ‘स्मार्ट सेफ्टी’ प्रणालीमार्फत यात्रुहरूलाई कसरी सक्रिय रूपमा सुरक्षा दिन्छ भन्ने कुरामा जोड दिए । उनले चीनको सरकारी प्रसारक सीसीटीभी मार्फत क्य्रास टेस्ट र अन्य सुरक्षा विशेषताहरूको प्रत्यक्ष प्रसारण पनि गराए ।

नियोले पहिलो त्रैमासिकमा ८३ हजार ४ सय ६५ वटा कार डेलिभर गरेको थियो । यो एक वर्षअघिको तुलनामा झण्डै दोब्बर हो तर चौथो त्रैमासिकको तुलनामा ३३ प्रतिशत गिरावट हो ।

यस तथ्यांकमा नियोका सस्तो ब्रान्डहरू अनभो र फायरफ्लाईका सवारीसाधनहरू पनि समावेश छन् । त्यस कम्पनीले चीनको सुस्त उपभोक्ता बजारमा प्रतिस्पर्धी रहन पछिल्लो दुई वर्षमा सस्तो सेग्मेन्ट सुरु गरेको थियो ।

उद्योग तथ्यांक साइट चाइना अटोहोमका अनुसार, गत महिना चीनमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी टेस्लाको मोडेल वाई थियो । इलोन मस्कको कम्पनीले वर्षौंको पर्खाइपछि गत साता चीनमा ड्राइभर असिस्ट फिचर सुरु गर्न बेइजिङको स्वीकृति पाएको थियो ।

नियोको ईएस८ अप्रिलको डेलिभरीमा इलेक्ट्रिक र परम्परागत ग्यास दुवै कारहरूमा १०औं स्थानमा रह्यो ।

विदेशी कार निर्माताहरूले पनि कम मूल्यमा चीनको प्रिमियम बजारमा प्रतिस्पर्धा गरिरहेका छन् । अडीले मे ८ देखि आफ्नो ईएन्डएक्स इलेक्ट्रिक एसयूभीको प्रि–सेल्स सुरु गरेको छ । यसको मूल्य २ लाख ८९ हजार ८०० युआनबाट सुरु हुन्छ र शुक्रबार बिहान यसलाई आधिकारिक रूपमा सार्वजनिक गर्ने तयारी छ ।

यो कार जर्मन अटोमेकरको चीन–केन्द्रित नयाँ ब्रान्ड अन्तर्गतको दोस्रो मोडल हो जुन शाङ्हाईको एसएआईसीसँग मिलेर विकास गरिएको हो ।

बीवाइडी र अन्य चिनियाँ कार निर्माताहरू जस्तै नियोले पनि विदेशमा विस्तार गर्ने नीति लिएको थियो । तर, कम्पनीले गत वर्ष आफ्नो ध्यान पुनः चीनमा केन्द्रित गर्ने निर्णय गरेको लीले बिहीबार बताए । उनले ईयू ट्यारिफ, रुस–युक्रेन युद्ध र चीनको तुलनामा विदेशमा ब्याट्री सेवाहरूमा लगानी गर्ने उच्च लागत जस्ता भूराजनीतिक तनावहरूलाई यसको कारण बताए । नियोले धेरैजसो विदेशी विस्तार जर्मनी र नर्वेमा केन्द्रित गरेको छ ।