
काठमाडौं । युनाइटेड डिष्ट्रिब्यूटर्स नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब सवा ७ अर्ब रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले चालु आवको ६ महिनाको अवधिमा ७ अर्ब २२ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो । कम्पनीले एक दिनमा औसतमा करिब ४ करोड १ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ ।
कम्पनीले गत आवमा १५ अर्ब २० करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२४ मा १४ अर्ब ७८ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा १३ अर्ब ६१ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा १३ अर्ब ८१ करोड रुपैयाँ र सन् २०२१ मा १२ अर्ब ११ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीको कारोबार चालु आवको ६ महिनाको अवधिमा ५ प्रतिशतले घटेको छ । कम्पनीका अनुसार चालु आवको ६ महिनाको अवधिमा पर्सनल केयर सेग्मेन्टको कारोबारमा २१ प्रतिशतले कमी आउँदा समग्र व्यापार घटेको हो ।
सन् २००३ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका वस्तु आयात गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले एफएमसीजी वस्तुहरू पी एन्ड जी, ब्रिटानिया, अमुल, एससी जोन्सन र अन्य सामग्री आयात गर्दै आएको हो । देशभर ४५ हजार आउटलेट रहेको यो कम्पनी विशाल ग्रुपद्वारा सञ्चालित छ ।
कम्पनीले गत आवमा सेयरधनीलाई लाभांश वितरण गरेको थिएन । सेयरधनीलाई लाभांश वितरण नगर्दा सन् २०२४ को तुलनामा गत आवमा कम्पनीको ऋणको स्तर घटेको छ । सन् २०२५ को आन्दोलनका क्रममा क्षति पुगेको मौज्दात सम्बन्धी ६० करोड ऋणले पनि यसमा आंशिक प्रभाव पारेको छ ।
सन् २०२६ को अप्रिलसम्ममा कम्पनीको ड्रइङ पावरमा करिब ५३ प्रतिशत अर्थात् १ अर्ब ६९ करोड ४० लाख रुपैयाँको कुशन रहेको थियो ।
सन् २०२४ मा यो ८ प्रतिशत अर्थात् १७ करोड ९० लाख रुपैयाँ मात्रै थियो । बीमा कम्पनीबाट रकम प्राप्त भएपछि यो अवस्थामा अझ सुधार हुने अपेक्षा गरिएको छ । तर, गत आवका लागि प्रस्ताव गरिएको ५५ करोड ३० लाख रुपैयाँ लाभांशले उक्त सुधारको प्रभावलाई धेरै हदसम्म कम गर्न सक्ने सम्भावना छ ।
कम्पनीको कार्यशील पुँजीको तीव्रता चालु आवको ६ महिनाको अवधिमा बढेर २९ प्रतिशत पुगेको छ । कम्पनीमा अनुज अग्रवाल, विवेक अग्रवाल, निकुञ्ज अग्रवाल र विशाल अग्रवालको ५० प्रतिशत र अन्य १० जना व्यक्तिको बाँकी स्वामित्व छ । कम्पनीले अल्पकालीन कर्जाका लागि ५ अर्ब ८६ करोड रुपैयाँको रेटिङ गराएको छ ।





प्रतिक्रिया