२३ युरोपेली कूटनीतिकर्मीले प्रधानमन्त्री बालेन्द्र शाहलाई मंगलबार भेट्ने

280
Shares

काठमाडौं । युरोपेली संघ (ईयू) को वार्षिक बैठकको अवसरमा नेपालका लागि ईयूका सदस्य राष्ट्रका राजदूत तथा नियोग उपप्रमुखहरूले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग सामूहिक शिष्टाचार भेट गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, २३ जना कूटनीतिकर्मीहरूको यो टोलीसँगको भेट मंगलबार बिहान ११ः३० बजेका लागि तय गरिएको छ ।

गत चैत १३ गते कार्यभार सम्हालेयता प्रधानमन्त्री शाहले विदेशी कूटनीतिकर्मीहरूसँग गर्न लागेको यो दोस्रो सामूहिक भेट हो । यसअघि गत चैत २५ गते उनले काठमाडौंस्थित १७ जना राजदूतहरूसँग संयुक्त भेटघाट गरेका थिए ।

ईयू राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा रहेको यस टोलीमा फ्रान्स, जर्मनी, इटली, स्पेन, डेनमार्क लगायत २२ सदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी छन् ।

टोलीले सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल, संस्कृति तथा पर्यटन मन्त्री खडकराज पौडेल र शिक्षामन्त्री सस्मित पोखरेलसँग उच्चस्तरीय छलफल गर्ने कार्यतालिका छ । साथै, उनीहरूले निजी क्षेत्र, नागरिक समाज र युवा नेताहरूसँग पनि संवाद गर्नेछन् ।

ईयूले जारी गरेको विज्ञप्ति अनुसार, प्रधानमन्त्री शाहको नेतृत्वमा रहेको नयाँ सरकारसँग सम्बन्ध सुदृढ बनाउनु र नेपालको विकासका प्राथमिकताहरूमा ऐक्यबद्धता जनाउनु यस भ्रमणको मुख्य उद्देश्य हो ।

नेपालको एक प्रमुख र भरपर्दो अन्तर्राष्ट्रिय साझेदारका रूपमा रहेको युरोपेली संघले शिक्षा, लोकतान्त्रिक सुशासन र दिगो आर्थिक विकासका क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको छ । प्रधानमन्त्रीसँगको यस भेटले आगामी दिनमा नेपाल र ईयूबीचको सहकार्यलाई थप नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।