
एजेन्सी । चीनको लोकप्रिय कार ब्रान्ड जिलीले आगामी बिहीबार (मे २८ मा) चीनमा आफ्नो नयाँ परिमार्जित ईएक्स२ ह्याचब्याक सार्वजनिक गर्ने कारन्युजचाइनाले जनाएको छ ।
स्थानीय रूपमा सिङयुआन नाम दिइएको यस कारमा सामान्य बाहिरी अपडेटहरू गरिएको छ र यसको गुड्ने क्षमतालाई ४६० किलोमिटर सीएलटीसीसम्म बढाइएको छ ।
यसको मूल्य आधिकारिक रूपमा घोषणा नगरिएको भए पनि हालको ईएक्स२ को बजार मूल्य ६८ हजार ८ सयदेखि ८७ हजार ८ सय युआनको बीचमा रहेको छ ।
एक कम्प्याक्ट इलेक्ट्रिक ह्याचब्याक ईएक्स२ सन् २०२४ मा जिलीको जियोम सब–ब्रान्ड अन्तर्गत सार्वजनिक गरिएको थियो ।
हाल यो ग्यालेक्सी सब–ब्रान्ड अन्तर्गत बिक्री भइरहेको छ जुन परिवर्तन सन् २०२५ को अन्त्यतिर सार्वजनिक भएका स्पाइ शट्सबाट पुष्टि भएको थियो । चाइना ईभी डाटाट्य्राकरका अनुसार, सन् २०२५ मा ४ लाख ६५ हजार ७ सय ७५ युनिटहरू डेलिभरी भई यो हाल चीनको सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ ।
यस नयाँ संस्करणले ईएक्स२ मा सामान्य बाहिरी परिवर्तनहरू ल्याएको छ जसमा नयाँ ग्यालेक्सी लोगोहरू र अतिरिक्त एयरो हबक्याप डिजाइनहरू समावेश छन् । यसको एलएफपी ब्याट्री अपग्रेड गरिएको छ जसमा ३६० किमि र ४६० किमि सीएलटीसी रेन्जका लागि क्रमशः ३५ किलोवाट आवर र ४७ किलोवाट आवरका प्याकहरू उपलब्ध छन् ।
ईएक्स२ को मोटरहरू सम्भवतः परिवर्तन भएका छैनन् । साना ब्याट्री प्याकहरूमा ५८ किलोवाट (७८ हर्सपावर) को रियर मोटर र ठूला प्याकहरूमा ८५ किलोवाट (११४ हर्सपावर) को रियर मोटर रहेको छ । हालको ईएक्स२ ले सीएटीएल कम्पनीका एलएफपी ब्याट्री प्याकहरू प्रयोग गर्ने भए पनि जिलीले यस नयाँ संस्करणका लागि आपूर्तिकर्ताहरूको जानकारी सार्वजनिक गरेको छैन ।
फास्ट चार्जिङ हाल मानकको रूपमा उपलब्ध छ जसमा जिलीले २१ मिनेटमा ३०–८० प्रतिशतसम्म चार्ज हुने दाबी गरेको छ । नयाँ संस्करणमा यसमा थप सुधार हुने सम्भावना छ । रियर–मोटर आरडब्ल्यूडी (पछाडिको पांग्राले चल्ने) नै यसको एकमात्र ड्राइभट्रेन विकल्पको रूपमा रहेको छ ।
सबै ईएक्स२ मोडलहरूमा लिक्विड ब्याट्री कुलिङ मानकको रूपमा उपलब्ध छ जसले गर्दा यो बीवाईडी सीगल र वुलिङ बिंग्वो जस्ता प्रतिस्पर्धीहरूभन्दा उत्कृष्ट देखिन्छ । यस श्रेणीका अधिकांश अन्य कारहरूले लिक्विड कुलिङलाई महँगो भर्सनहरूका लागि मात्र राख्ने गर्छन् जसले गर्दा सुरुवाती संस्करणहरूमा हावाले चिस्याइने ब्याट्रीहरू मात्र हुन्छन् ।
जानकारीका लागि, ईएक्स२ को लम्बाई ४१ सय ३५ मिलिमिटर (मिमी), चौडाइ १८ सय ५ मिमी, उचाई १५ सय ७० मिमी र २६ सय ५० मिमीको ह्विलबेस रहेको छ । चेसिसको कुरा गर्दा यसको अगाडि मकफर्सन स्ट्रट्स र पछाडि मल्टी–लिंक इन्डिपेन्डेन्ट रियर सस्पेन्सन जडान गरिएको छ ।
यस श्रेणीका प्रतिस्पर्धी गाडीहरूमा प्रायः पछाडि टोर्सन बार्स हुन्छन् जसले आरामदायी यात्रामा केही असर पुर्याउन सक्छ ।
चाइना ईभी डाटाट्य्राकरका अनुसार, जिली ईएक्स२ चीनको अटो बजारमा निकै सफल कार हो जसले अप्रिल २०२६ मा मात्र आन्तरिक रूपमा ३४ हजार ७ सय २७ युनिट डेलिभरी गरेको छ । यसको बिक्री सेप्टेम्बर २०२५ मा ४८ हजार ८० युनिट पुगेर उच्चतम बिन्दुमा पुगेको थियो ।
तैपनि यो मोडल झण्डै २ वर्षदेखि बजारमा खासै परिवर्तन बिना उपलब्ध छ र अबको यो नयाँ संस्करण र रेन्ज वृद्धिले यसको बजारको गतिलाई कायम राख्न मद्दत गर्नेछ ।





प्रतिक्रिया