गोल्यान ग्रुपले लुम्बिनीमा बनाउँदै गरेको पाँचतारे हायात होटलको लागत साढे २ अर्बभन्दा धेरैले बढ्यो

1.6k
Shares

काठमाडौं । गोल्यान ग्रुपले लुम्बिनीमा बनाउँदै गरेको पाँचतारे होटलको लागत बढेको पाइएको छ । वेद हस्पिटालिटीले निर्माण गरिरहेको होटलको लागत २ अर्ब ६६ करोड ४० लाख रुपैयाँले बढेको हो ।

कम्पनीले सुरुमा ४ अर्ब ६० लाख रुपैयाँ लागतमा होटल निर्माण गर्ने जनाएको थियो । तर, अहिले उक्त लागत बढेर ६ अर्ब ६७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीको लागत ६६ प्रतिशतले बढेको छ ।

अनुभवी लगानीकर्ता तथा हायात ब्रान्डसँगको सम्बन्ध भएका कारण दीर्घकालीन स्तरोन्नतिबाट परियोजनाले लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

हाल कम्पनीले ऋण र इक्विटीको अनुपात ६७:३३ राखेको छ । कम्पनीले यसअघि ७५:२३ राखेको थियो ।

कम्पनीले कुल ४ अर्ब ५० करोड रुपैयाँ ऋणमध्ये २ अर्ब ८० करोड रुपैयाँको व्यवस्थापन भइसकेको जनाएको छ। बाँकी १ अर्ब ७० करोड रुपैयाँको व्यवस्था प्रक्रियामा रहेको छ ।

गोल्यान होटल लिमिटेडद्वारा सञ्चालित कम्पनी सन् २०२२ मा दर्ता भएको थियो । कम्पनीले लुम्बिनीको मायादेवी गाउँपालिकामा पाँचतारे होटल निर्माण तीव्र गतिमा गरिरहेको छ । कम्पनीले उक्त क्षेत्रमा ४ लाख ९२ हजार ५ सय ८८ स्क्वायर फिट क्षेत्रफलमा १ सय ७७ कोठाको सुविधासहितको होटल निर्माण गरिरहेको छ ।

कम्पनीले होटलमा रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा र क्यासिनो पहिलो चरणमा निर्माण गर्नेछ । त्यसैगरी होटलमा फुड एन्ड बेभरेज सेवा, कन्फरेन्स र ब्यांक्वेट हल, स्पा र अन्य सुविधा हुने जनाइएको छ ।

हाल परियोजना प्रारम्भिक चरणमै रहेकाले अनुमानित लागतभित्र समयमै परियोजना सम्पन्न गर्न नसक्ने जोखिम कम्पनीमा अझै कायम रहेको रेटिङमा उल्लेख छ ।

कम्पनीले होटलको व्यवस्थापनका लागि हायात इन्टरनेशनल साउथ वेस्ट एसिया लिमिटेडसँग सम्झौता गरेको छ । उक्त कम्पनी हायात होटल्स कर्पोरेसनको सहायक कम्पनी हो । कम्पनीले हायात रेजेन्सी ब्रान्डमा विश्वभर होटलको व्यवस्थापन गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ६२ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४ अर्ब ५० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १२ करोड रुपैयाँको रेटिङ गराएको हो ।