
काठमाडौं । चालु आर्थिक वर्षमा विद्युतीय गाडीको आयात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्मको तथ्यांकले विद्युतीय गाडीको आयात घटेको देखाएको हो ।
चालु आर्थिक वर्षको वैशाखसम्म कुल ८ हजार ६०५ विद्युतीय गाडी आयात भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म ९ हजार ८४८ युनिट विद्युतीय गाडी आयात भएको थियो ।
सरकारले चालु आर्थिक वर्षमा विद्युतीय गाडीको भन्सार बढाउने चर्चा चलेसँगै व्यवसायिले गत वर्षको वैशाख र जेठमा बजेटअघि ठुलो परिमाणमा विद्युतीय गाडी आयात भएको थियो ।
जसले गर्दा साउन र भदौमा भएको दुईवटा अटो शो र दशैं तिहारका पनि विद्युतीय गाडीको आयात अपेक्षित रुपमा बढेको थिएन । जसले गर्दा चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा विद्युतीय गाडीको आयात घटेको हो ।
वैशाखसम्म कुल २० अर्ब ३२ करोड ३५ लाख ९२ हजार रुपैयाँ बराबरको ८ हजार ६०५ युनिट विद्युतीय गाडी आयात भएको छ । गत आर्थिक वर्षको जेठसम्म २३ अर्ब ९ करोड १० लाख रुपैयाँ बराबरको ९ हजार ८४३ युनिट गाडी आयात भएको भन्सार विभागको तथ्यांक छ । विद्युतीय गाडीको आयात घटेसँगै सरकारको राजस्व पनि घटेको छ ।
गत आर्थिक वर्षमा विद्युतीय गाडी आयातबाट १४ अर्ब २३ करोड ९१ लाख ५२ हजार रुपैयाँ भन्सार संकलन भएको थियो । चालु आर्थिक वर्षमा विद्युतीय गाडी आयात घटेसँगै भन्सार राजस्व पनि घटेर १२ अर्ब ४३ करोड २९ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।
कुन क्षमताका कति विद्युतीय गाडी आयात भए?
चालु आर्थिक वर्षमा सबैभन्दा धेरै विद्युतीय गाडी ५१ देखि १०० किलोवाट क्षमताको आयात भएको छ । उक्त क्षमताको कुल १३ अर्ब २ करोड ५८ लाख ५७ हजार रुपैयाँ बराबरको ५०२५ युनिट विद्युतीय गाडी आयात भएको छ । जसबाट ८ अर्ब २८ करोड ९१ लाख ३८ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।
गत आर्थिक वर्षको वैशाखसम्म १३ अर्ब ८७ करोड १४ लाख ३ हजार रुपैयाँ बराबरको ५ हजार ५३४ युनिट विद्युतीय गाडी आयात हुँदा ८ अर्ब ८० करोड ३१ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
यस्तै ५० किलोवाट क्षमताभन्दा कमका ५ अर्ब १४ लाख ७ हजार रुपैयाँ बराबरको २ हजार ८४८ युनिट विद्युतीय गाडी आयात भएको छ । जसबाट २ अर्ब १५ करोड ९५ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आवको वैशाखसम्म ५० किलोवाट भन्दा कम क्षमताका ५ अर्ब ९८ करोड ३ लाख २६ हजार रुपैयाँ बराबरको ३ हजार ३६९ युनिट विद्युतीय गाडी आयात भएका थिए । जसबाट २ अर्ब ८५ करोड ६५ लाख २३ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो ।
१०१ किलोवाटदेखि २०० किलोवाट क्षमताको २ अर्ब २३ करोड ५५ लाख ६७ हजार रुपैयाँ बराबरको ७२३ युनिट विद्युतीय गाडी आयात भएको छ । जसबाट १ अर्ब ८९ करोड ८८ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आवको वैशाखसम्म १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताको ३ अर्ब १० करोड ५३ लाख ३९ हजार रुपैयाँ बराबरको ९२७ युनिट विद्युतीय गाडी आयात भएको थियो । जसबाट २ अर्ब ६४ करोड १ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
२०१ किलोवाटदेखि ३०० किलोवाट क्षमताको ६ करोड १७ लाख ६२ हजार रुपैयाँ बराबरको ९ युनिट विद्युतीय गाडी आयात भएको छ । जसबाट ८ करोड ५३ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आवको वैशाखसम्म २०१ किलोवाटदेखि ३०० किलोवाट क्षमताको १३ करोड ३९ लाख ३१ हजार रुपैयाँ बराबरको १८ युनिट विद्युतीय गाडी आयात भएको थियो । जसबाट २० करोड ९३ लाख १४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
यसबाहेक अनएसेम्बल ५० किलोवाट क्षमताका २ विद्यतीय गाडी आयात भएको छ । २३ लाख ९७ हजार रुपैयाँको उक्त गाडी आयातबाट ७ लाख ६९ हजार राजस्व संकलन भएको छ ।





प्रतिक्रिया