धनगढीका मेयर गोपाल हमाल लखेटिएको घटना के हो ?

2k
Shares

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितलाई बाजुराको विकट हिमाली क्षेत्रमा ढुङ्गामुढा गर्दै एक समूहले लखेटेको भिडियो सार्वजनिक भएको छ ।

बाजुरा र हुम्लाको सीमा क्षेत्रमा भएको झडपको घटना पछि मेयर हमालमाथि किन आक्रमण भयो भन्ने प्रश्न उठिरहेको छ । उक्त भिडियो बाहिरिएसँगै जिल्ला प्रशासन र प्रहरीले लुकाउन खोजेको स्थानीय जनप्रतिनिधिमाथिको बर्बरता र सुरक्षा संवेदनशीलताको डरलाग्दो तथ्य उजागर भएको छ।

‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियान लिएर रानीसैन क्षेत्रको पर्यटन प्रवर्द्धनमा निस्किएका मेयर हमाल र उनको टोलीलाई हुम्लाबाट आएका करिब तीन सयको समूहले लखेटेको दृश्य भाइरल भएपछि मात्रै प्रशासनले घाइतेहरूको उद्धारमा तदारुकता देखाएको हो ।

जेठ ३ गते नै हुम्लाको खार्पुनाथका स्थानीयको आक्रमणमा परी गम्भीर घाइते भएका बाजुराको हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङ र उनकी श्रीमती लक्ष्मी गुरुङलाई ६ दिनसम्म बन्धक बनाइएको थियो ।

उनीहरूलाई घाइते अवस्थामै घरभित्र थुनेर रासन समेत कब्जा गरिएको थियो । बुधबार मात्रै सिम्रिक एयरको हेलिकोप्टरमार्फत वडा सदस्य गुरुङ दम्पतीसहित स्थानीय मीनू कुँवर र हुम्लाका ५० वर्षीय नरबहादुर गुरुङलाई उद्धार गरी सुर्खेत लगिएको छ ।

झडपमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा र प्रहरी सहायक हवल्दार महेश धामी समेत घाइते भएका छन् ।

विवादको खास कारण के हो ?

यो विवादको चुरो सुदूरपश्चिम प्रदेश सरकारले हिमाली गाउँपालिकाको लाम्पाटामा निर्माण गर्न लागेको अस्थायी प्रहरी चौकी हो। ४० लाख रुपैयाँको बजेटमा बन्न लागेको सो चौकीका लागि वडा सदस्य पेमा गारा गुरुङले जग्गा उपलब्ध गराएपछि हुम्लाको खार्पुनाथ र सर्केगाडका स्थानीय आक्रोशित बनेका छन् ।

नापी कार्यालय बाजुराका अनुसार रानीसैन क्षेत्र बाजुरामा पर्छ । तर, उक्त क्षेत्र हुम्लामा पर्ने भन्दै स्थानीय आन्दोलित छन्।

विकट र मानव बस्ती कम भएको फाइदा उठाउँदै हुम्लाका तस्करहरूले वर्षौंदेखि यहाँको यार्सागुम्बा र बहुमूल्य जडीबुटीमा एकाधिकार जमाउँदै आएको स्थानीयको आरोप छ । त्यहाँ प्रहरी चौकी स्थापना भएमा आफ्नो अवैध तस्करीको धन्दा रोकिने र सिमानामा बाजुराको उपस्थिति बलियो हुने भयले उनीहरूले योजनाबद्ध रूपमा आक्रमण गरेको उनीहरूको दाबी छ ।

सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा पुगेको मेयर हमालको टोलीलाई लखेट्नुको मुख्य उद्देश्य पनि आफ्नो अवैध गतिविधि बाहिर नआओस् भन्ने नै रहेको स्थानीय जनप्रतिनिधिहरूको दाबी छ ।

बाजुरा प्रहरीले मेयर हमालको टोलीले ड्रोन उडाएर भिडियो खिच्न थालेपछि पहिलेदेखि साम्य भइसकेको विवाद पुनः बल्झिएको दाबी गर्दै आएको छ । तर, मेयर हमालले बुधबार एक भिडियो सन्देश जारी गर्दै प्रशासनको यो दाबीलाई ‘हास्यास्पद र भ्रामक’ भनेका छन् ।

‘हामी त जेठ ५ गते मात्र त्यहाँ पुगेका हौं, जबकि वडा सदस्यमाथि जेठ ३ गते नै बर्बर आक्रमण भइसकेको थियो,’ मेयर हमालले भने, ‘हाम्रो टोली पुग्नुभन्दा तीन दिनअघि सुरु भएको हिंसालाई ड्रोनको बहाना बनाएर प्रशासनले आफ्नो असफलता लुकाउन खोज्दैछ। यदि ड्रोनकै कारण झडप भएको पुष्टि भए म जुनसुकै सजाय भोग्न तयार छु।’

उनले घटनाको उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रशासनले सुरक्षा चुनौतीबारे पूर्वजानकारी नदिएकोमा कडा आक्रोश पोखेका छन् ।

धनगढी उपमहानगरपालिकाले भ्रमणको सम्पूर्ण विवरण प्रशासनलाई पहिले नै उपलब्ध गराउँदा समेत बाजुरा प्रशासनले त्यहाँ भइरहेको तनावबारे कुनै जानकारी नदिएको पाइएको छ ।

आक्रमणकारीले पत्रकारहरूमाथि समेत दुर्व्यवहार गर्दै क्यामरा र ड्रोन खोसेर फुटाएका छन् भने प्रहरी सहायक हवल्दार महेश धामीको लुगा समेत च्यातिदिएको दृश्यले सो क्षेत्रमा राज्यको उपस्थिति शून्य जस्तै देखिएको छ ।

जिल्ला प्रशासन र प्रहरीले घटनालाई सामान्यीकरण गर्न खोजे पनि मेयर हमालको टोली झण्डै मृत्युको मुखबाट जोगिएर फर्किएको छ । हाल सो क्षेत्रमा सुदूरपश्चिमका नागरिकलाई प्रवेशमा अवरोध सिर्जना गरिएको छ ।