
काठमाडौं । गत वर्ष २०८२ को भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले ५ तारे होटल हायात रेजेन्सीको व्यापारमा उच्च प्रभाव पारेको छ ।
आन्दोलनका क्रममा होटलमा आगलागीसहित तोडफोड र लुटपाटसमेत भएको थियो । त्यसपछि होटल मर्मतका लागि भन्दै बन्द छ । होटल बन्द भएका कारण यसको व्यापारमा उच्च प्रभाव परेको हो ।
तारागाउँ रेजेन्सी होटल्सले सञ्चालन गर्दै आएको होटल हायातले गत आर्थिक वर्षमा १ अर्ब ५२ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो । तर, चालु आवको ६ महिनाको अवधिमा कम्पनीले १७ करोड २० लाख रुपैयाँको मात्रै कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ४९ करोड ५० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ३४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीका अनुसार जेन्जी आन्दोलनका कारण सन् २०२५ को सेप्टेम्बरदेखि होटल औपचारिक रूपमै एक वर्षका लागि बन्द गरिएको छ । कम्पनीले जेन्जी आन्दोलनअघि कारोबार सन्तोषजनक रहेको जनाएको छ ।
गत आवमा होटलको प्रति कोठाको औसत मूल्य १२ हजार ३ सय २५ रुपैयाँ थियो । जसमा होटलको अकुपेन्सी रेट ५९.२० प्रतिशत थियो । सन् २०२४ मा यसको औसत कोठा मूल्य १२ हजार ५६ रुपैयाँ थियो ।
कम्पनीको दिगो नाफा आर्जन र सञ्चित कोषमा भएको वृद्धिले ट्यान्जिबल खुद सम्पत्तिमा निरन्तर वृद्धि देखिएको छ । सन् २०२२ मा २ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा अहिले वृद्धि भएर ३ अर्ब १३ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको गत आवको अन्त्यसम्ममा ३१ करोड ५० लाख रुपैयाँ नगद तथा बैंक मौज्दात थियो । साथै, २ अर्ब ७० लाख रुपैयाँ फिक्स डिपोजिटमा राखेको थियो । उक्त रकमले गर्दा कम्पनीको तरलता सुरक्षित भएको थियो ।
तर, जेन्जी आन्दोलनका कारण प्रभाव परेको होटलका लागि कम्पनीले पुनर्स्थापना तथा स्तरोन्नति गर्नका लागि ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । जसमा कम्पनीले २ अर्ब रुपैयाँ ऋण लिई लगानी गर्ने भएको छ भने बाँकी १ अर्ब रुपैयाँ कम्पनीले फिक्स डिपोजिटको उपयोग गर्ने योजना बनाएको छ ।
कम्पनीले हाल पुनर्स्थापना र स्तरोन्नति गर्नका लागि होटलको कारोबार बन्द गरेको छ । कम्पनीले होटल सञ्चालन पुनर्स्थापनाको कार्य सम्पन्न गरी चरणबद्ध सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
होटलमा यसअघि २ सय ८० वटा कोठाको सुविधा थियो । पुनर्स्थापनापछि कोठाको संख्या २ सय ९१ वटा बनाउने योजना बनाएको छ । कम्पनीका अनुसार होटल सन् २०२७ देखि सञ्चालनमा आउने जनाइएको छ ।
कम्पनीले कोठासँगै १३ वटा भिल्ला पनि निर्माण गर्नेछ । उक्त भिल्ला सन् २०२८ बाट सञ्चालनमा ल्याउने कम्पनीको भनाइ छ ।
सन् १९९० मा स्थापना भएको कम्पनीले बौद्धमा होटल सञ्चालन गर्दै आएको छ ।
सराफ र श्रेष्ठ ग्रुपको लगानी रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको अध्यक्ष अरुणकुमार सराफ हुन् ।





प्रतिक्रिया