
काठमाडौं । जेनजी आन्दोलनपछि बन्द भएको पाँचतारे होटल तारागाउँ रिजेन्सी (हायात)ले एक वर्षसम्म स्थायी कर्मचारीलाई घर पठाउने सहमति गराएको छ ।
होटलमा कार्यरत मजदुरमध्ये १३३ जनालाई फोर्स लिभमा राख्ने गरी व्यवस्थापनले यसअघि गरेको निर्णयअनुसार सार्वजनिक सूचनासमेत प्रकाशन गरेको थियो । त्यतिबेला व्यक्तिगत मुद्दासमेत फिर्ता लिनुपर्ने व्यवस्थापनको शर्त मजदुरले नमानेका कारण एक वर्षसम्म घरबिदा बस्ने र मासिक १२ हजार १७० रुपैयाँ लिने सहमति कार्यान्वयन हुन सकेको थिएन । होटल र मजदुरबीच भएको सहमति अनुसार घर बसेवापत हरेक मजदुरले १ लाख ४६ हजार पाउने भएका छन् ।
बुधबार व्यवस्थापन र मजदुर युनियनबीच सहमति जुटेको हो । तर केहीले भने उक्त सम्झौतालाई मान्न नसकिने बताएका छन् ।
व्यवस्थापनसँगको पटक पटकको वार्ता र छलफलपछि १७ जना म्यानेजरसहित २० जनाले होटल व्यवस्थापन र मजदुर युनियनसँग भएको सहमति मानेका छैनन् भने बाँकी १२७ जना यही नोभेम्बरदेखि एक वर्षसम्म घरबस्ने भएका छन् ।
होटलमा कार्यरत १७ जना म्यानेजरमध्ये ११ जना व्यवस्थापनविरुद्ध व्यक्तिगत मुद्दा लडिरहेका छन् । उनीहरुले मुद्दा जित्दा पाउने लाभ बढी हुने भएको र उनीहरुले मजदुरसँगको सहमति आफूहरु मान्य नहुने तर्क गरेका छन् ।
मजदुरले आन्दोलन गर्दा पनि व्यवस्थापनलाई साथ दिने यी म्यानेजरले आफूहरुसँग गर्ने सहमति र व्यवहार पनि फरक हुने तर्क उनीहरुले गरेका छन् ।
अरु तीन जना मजदुरहरु हेमबहादुर पण्डित, लक्ष्मण सिंखडा र जीतबहादुर गजुरेलले व्यवस्थापनविरुद्ध व्यक्तिगत मुद्दा हालेको र उनीहरुलाई व्यवस्थापनले श्रम ऐनको दफा १४५ लगाएर हटाउँदासमेत लाभ हुने भएकोले पनि मजदुर र व्यवस्थापनसँगको सम्झौतामा असहमत भएका हुन् ।
१२० भन्दा बढी मुद्दा फिर्ता लिने सहमति
होटलमा कार्यरत स्थायी मजदुरमध्ये १२० जनाभन्दा बढीको व्यवस्थापन विरुद्ध व्यक्तिगत मुद्दा रहेको र ती सबै फिर्ता गर्ने शर्तमा सहमति भएको होटलको व्यवस्थापनसँग सम्झौता गरेका एक मजदुरले क्लिकमान्डुलाई जानकारी दिए ।
होटल व्यवस्थापनसँग भएको सहमति अनुसार आगामी एक वर्षपछि होटल खुल्ने र त्यो समसयम्म सबै मजदुरलाई दामासाहीले मासिक १२ हजार १७० रुपैयाँ भुक्तानी गर्ने सहमति भएको छ ।
भदौ २४ गतेको जेनजी आन्दोलनमा तोडफोड र आगजनीपछि बन्द रहेको यो होटलले यस अघि कात्तिक १५ गते १३३ जना कर्मचारीलाई हटाउने सूचना सार्वजनिक गरेको थियो ।
होटलमा रहेका तीनवटै मजदुर युनियनसँग होटलले सहमति गरेर उक्त सूचना निकालेको थियो । त्यतिबेला मजदुरले ब्यक्तिगत मुद्दा फिर्ता नलिने अडान राखका थिए, जसका कारण व्यवस्थापनले सूचना निकालेको भए पनि कार्यान्वयन भने गर्न सकेको थिएन ।
होटलले आगामी एक वर्ष मर्मतका लागि सञ्चालन नगर्ने र सो अविधसम्म स्थायी मजुदरलाई मासिक न्यूनतम पारिश्रमिक दिने भएको छ ।
यो होटलले तिहारपछि मजदुरलाई काममा खटाएको छैन । यो होटलमा हाल १४७ स्थायी कर्मचारी छन् । अरु २ सय जना जति करारका कर्मचारी भने होटल बन्द भएकोले काममा बोलाइएको छैन ।
होटलले कात्तिक २५ गते एक महिनाको समय दिएर मजदुर कटौती गर्ने सूचना निकालेको थियो । होटलले श्रम एन २०७४ को दफा १४५ बमोजिम होटलका १३३ जना मजदुरलाई आगामी मंसिर २२ गतेदेखि लागू हुने गरी कटौती गरेको उल्लेख थियो । सोही सूचना अनुसार जाने होटल व्यवस्थापनको अडानका कारण मजदुर पनि एक वर्षसम्म बिदामा बस्न सहमत भएका हुन् ।
होटलले श्रमिकलाई सरकारले तोकेको मजदुरको न्यूनतम तलब (१२,१७० रुपैयाँ) रुपैयाँका साथै सो अवधिमा सामाजिक सुरक्षा कोषमा (३१ प्रतिशत) ११ प्रतिशत मजदुरको र अर्को २० प्रतिशत होटल व्यवस्थापनले राख्ने छन् ।
एक वर्षपछि होटल पुनः सञ्चालन हुने भएकोले मजदुरलाई खाइपाइ आएकै तलब र सेवा सुविधामा काममा फर्कने वातावरण दिने सहमति होटलका तीन वटै कर्मचारी युनियसँग भएको छ ।
होटलमा नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ छन् । तीनवटै मजदुरसंघसँग सहमति गरेर होटलले श्रमिक कटौती गर्ने सहमति भएको हो ।
ट्रेड युनियन र व्यवस्थापकबीच सहमति भएर यस अघि नै बनेको श्रमिक कोषमा रहेको २ करोड २० लाख रुपैयाँ मध्येबाट नै १४४ जना (एक देखि ७ तहसम्मका) कर्मचारीलाई समान रुपले वितरण गर्ने सहमति भएको थियो । तर होटलले अन्तिम समयमा व्यक्तिगत मुद्दासमेत फिर्ता लिएर मुद्दा शून्य बनाउनुपर्छ भनेका कारण मजदुरले अनसन्तुष्टि जनाएका थिए । हाल मजदुरले मुद्दा फिर्ता लिने र त्यसवापत लागेको खर्च होटलले व्यवहोर्ने भएको छ ।
गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा यस होटलमा आपराधिक समूह प्रवेश गरी होटलमा तोडफोड, लुटपाट र आगलागिजन्य क्रियाकलापहरु गरेको कारण सोही दिनबाट यस होटल पूर्ण रुपमा बन्द रहेको छ ।
होटलमा भएको उक्त आगलागी र तोडफोडका कारण होटल क्षतिग्रस्त भई पूर्ण रूपले मर्मत सम्भार नगरी संचालनमा ल्याउन सक्ने अवस्था समेत नरहेकाले होटलको मर्मत सम्भार नहुँदासम्म होटल पूर्ण रुपले बन्द रहने होटलले उल्लेख गरेको छ ।
होटलका अनुसार भाद्र २४ को घटनाका क्रममा होटलमा भएका एकजना विदेशी पाहुनाले आगलागीको कारण बाहिर आउन नसकि ज्यान बचाउन होटलको ४ तलाबाट हामफाल्दा घाईते भई उपचारको क्रममा ज्यान गएकोसमेत उल्लेख गरेको छ ।
होटलमा आवास सुविधा लिएका अन्य विदेशी अतिथिहरूको लगेज तथा सरसामानहरू समेत आपराधीक समूहले लुटपाट तथा आगो लगाएकोमा सो घटनाले अन्तर्राष्ट्रिय जगतमान होटलको ख्यातीमा व्यापक नकारात्मक प्रभाव पारेको दाबी होटलको छ ।
होटलको मर्मत सम्भारका लागि करोडौं रकम लाग्ने र मर्मत अवधि भर होटलको कुनै आम्दानीको स्रोत समेत नहुने भएकाले प्रतिष्ठानलाई विगतको भन्दा ठूलो आर्थिक चुनौती समेत आएको होटलको मजदुरलाइ कटौती गरेर खर्च घटाउनुपरेको पनि उल्लेख गरेको छ ।







प्रतिक्रिया