
काठमाडौं । सिताराम एग्रो फुड प्रोडक्टको व्यापार १० प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १० प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब १५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ६१ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीले गत आवमा १ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा १ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीअनुसार गत आवमा वित्तीय लागत बढ्दा नाफामा थप दबाब परेको जनाएको छ । सन् २०२४ मा वित्तीय लागत ३ करोड १० लाख रुपैयाँ थियो । गत आवमा बढेर ४ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, कम्पनीको कुल नगद सञ्चय घटेको पाइएको छ । सन् २०२४ मा २ करोड ६० लाख रुपैयाँ थियो । गत आवमा घटेर २ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ ।
सन् २०२१ मा स्थापना भएको कम्पनीले धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ । कम्पनीले धान आयात गरी ग्रेडिङ, सर्टिङ र पोलिसिङ गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले एसटीएम गोल्ड, लालबन्दी गोल्ड, बन्चरी र युवराज ब्रान्डमा देशभर बिक्री वितरण गर्दै आएको छ । कम्पनीले चामलसँगै ढुटो र कनिका पनि बिक्री गर्दै आएको छ ।
कम्पनीले सन् २०२२ देखि व्यावसायिक कारोबार सुरु गरेको थियो । कम्पनीले गत आवमा ७५ प्रतिशत क्षमता उपयोग गरेको जनाएको छ । कम्पनीको प्रति घन्टा ८ मेट्रिक टन प्रशोधन क्षमता रहेको छ ।
सितारामकुमार साह रौनियारको लगानी रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १९ करोड १९ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४५ करोड ८१ लाख रुपैयाँको रेटिङ गराएको हो ।









प्रतिक्रिया