
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोपको विषयले प्रतिनिधि सभामा प्रवेश पाएको छ ।
मंगलबारको बैठकमा नेकपा (एमाले) की सांसद पार्वती विकले कार्कीमाथि लागेको आरोपबारे सदनको ध्यानाकर्षण गराउँदै यथार्थ सार्वजनिक गर्न माग गरेकी हुन् ।
सांसद कार्कीले एक नाइजेरियाली युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको भन्ने दाबीसहितका सामग्री सार्वजनिक भएपछि यो विषयले राजनीतिक रूप लिएको हो । संसदमा बोल्दै सांसद विकले भनिन्, ‘सत्तापक्षका एक सांसदले विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता पारेको चर्चा सामाजिक सञ्जालमा व्याप्त छ। यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको प्रतिष्ठामाथि गम्भीर प्रश्न उठाएको छ।’
उनले यो प्रकरणले राष्ट्रियता र नेपाललाई हेर्ने वैदेशिक दृष्टिकोणमा नकारात्मक असर पुग्ने भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषी देखिए सांसद कार्कीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेकी छिन्।
त्यस्तै सांसद निनुकुमारी कर्णले विदेशी महिलालाई प्रेम जालमा फसाएर अलपत्र पार्ने जनप्रतिनिधिले राष्ट्रका नागरिकलाई कसरी सुरक्षा दिन सक्छ ? भन्दै प्रश्न गरिन् ।
पीडित महिलाले न्याय पाउनु पर्ने र दोषीमाथि कारबाही हुनुपर्छ । सरकारसँग यसविषयमा सत्यतथ्य सरकारले जानकारी दिनु पर्ने उनले माग गरिन् ।









प्रतिक्रिया