
काठमाडौं । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले काम अलपत्र पारेपछि सरकारले ठेक्का सम्झौता रद्द गरेको छ ।
सडक विभाग अन्तर्गतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ‘कुमार–सिएफईसी जेभी’ सँगको ठेक्का सम्झौता अन्त्य गरेको हो ।
निर्देशनालयले बिहीबार (जेठ १ गते) एक सार्वजनिक सूचना जारी गर्दै कञ्चनपुरको महेन्द्रनगरमा निर्माणाधीन ’फोर लेन आरसीसी बक्स गर्डर ब्रिज’ को ठेक्का तोडिएको जानकारी दिएको छ ।
निर्माण कार्य सम्पन्न गर्न पटक–पटक पत्राचार गर्दा पनि निर्माण व्यवसायी लामो समयदेखि निर्माण स्थलमा अनुपस्थित रही ठेक्का अलपत्र पारेकाले सम्झौता रद्द गरिएको हो । ठेक्का सम्झौता अनुसारको शर्त उल्लंघन भएकाले निर्देशनालयले २०८१ वैशाख ३१ गते ठेक्का अन्त्य गर्ने निर्णय गरेको थियो ।
ठेक्का रद्द भएसँगै निर्देशनालयले निर्माण व्यवसायीलाई वित्तीय फरफारकका लागि ७ दिनको समय दिएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ बमोजिम ‘पोस्ट–टर्मिनेशन इभ्यालुएसन’ गरी कायम हुने रकम सरकारी बाँकी सरह असुल उपर गरिने चेतावनी समेत दिइएको छ ।
यसका लागि निर्माण व्यवसायीलाई ७ दिनभित्र महाकाली पुल योजना कार्यालय महेन्द्रनगर कञ्चनपुरमा सम्पर्क राखी आर्थिक हिसाब मिलान (फरफारक) गर्न निर्देशन दिइएको छ ।
लामो समयदेखि पुल निर्माणको काम रोकिएपछि स्थानीयस्तरमा समेत आक्रोश बढ्दै गएको थियो । सरकारको यो कदमसँगै अब नयाँ प्रक्रियामार्फत पुलको बाँकी काम अघि बढ्ने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया