
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने गृहकार्य सुरु गरेको छ ।
राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाअन्तर्गत मेट्रो रेल सञ्चालन गर्ने विषयमा विस्तृत अध्ययन तथा सम्भाव्यता अध्ययनको लागि मंगलबार बजेटको स्रोत सुनिश्चितता प्रदान गरेको छ ।
अर्थ मन्त्रालयले रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाको नाममा ३२ करोड ३७ लाख ९२ हजार रुपैयाँबराबरको स्रोत सुनिश्चितताको सहमति प्रदान गरेको हो ।
स्रोत सुनिश्चिततापछि चालु आर्थिक वर्षमै असार महिनाभित्र सम्भाव्यता अध्ययनको लागि टेन्डर आह्वान गर्नुपर्नेछ ।
सरकारले गत सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत आगामी आर्थिक वर्षमा विद्युतीय मास ट्रान्जिट प्रणाली विकास गर्दै सार्वजनिक यातायातलाई भरपर्दो बनाउने घोषणा गरेको थियो ।
मेट्रो रेल विद्युतीय मास ट्रान्जिट प्रणालीभित्रै पर्छ ।
उपत्यकामा मास ट्रान्सपोर्टको व्यवस्था नहुँदा सडक फराकिलोसँग अत्यधिक हुने जामको समस्या समाधान हुन नसकेको अवस्थामा मेट्रो रेल प्रणालीलाई अगाडि बढाउन लागिएको हो ।





प्रतिक्रिया