
एजेन्सी । सन् २०२६ को अप्रिल २९ मा मेटा (मेटा प्लेटफर्म्स) को त्रैमासिक आम्दानी सार्वजनिक गर्ने कार्यक्रममा सबै कुरा सामान्य नै देखिन्थ्यो ।
मेटाले राजस्व र नाफा दुवैमा प्रक्षेपणभन्दा राम्रो नतिजा निकालेको थियो र उसको नाफा ६१ प्रतिशतले बढेको थियो । तर, मार्क जकरबर्गले सन् २०२६ मा कृत्रिम बुद्धिमत्ता (एआई) मा गरिने लगानीलाई बढाएर १४५ अर्ब डलर पुर्याउने घोषणा गरेपछि हलमा सन्नाटा छायो ।
यो रकम मेटाले सन् २०२५ मा गरेको कुल खर्चको झण्डै दोब्बर थियो । एक विश्लेषकले यो विशाल लगानीबाट कहिले र कसरी प्रतिफल आउँछ भनेर सोधेको प्रश्नमा जुकरबर्गले दिएको जवाफले बजारलाई स्तब्ध बनाइदियो ।
जकरबर्गले भने, ‘यो निकै प्राविधिक प्रश्न हो । प्रत्येक उत्पादनले महिनौंपिच्छे कसरी प्रतिफल दिन्छ भन्नेबारे हामीसँग कुनै ठोस वा सटीक योजना छैन ।’
आफ्ना सेयरधनीहरूको १४५ अर्ब डलर खर्च गरिरहेका एउटा कम्पनीका प्रमुखले सटीक योजना छैन भनिदिँदा भोलिपल्ट बिहानै मेटाको सेयर १० प्रतिशतले खस्कियो ।
लगानीकर्ताहरूका लागि यो जवाफ केवल प्राविधिक थिएन । यो त एउटा गम्भीर चेतावनी थियो । जकरबर्गले सपना त देखाए, तर त्यस सपनालाई पैसामा कसरी बदल्ने भन्ने बाटो देखाउन सकेनन् ।
यसको ठीक उल्टो दृश्य सोही दिन अल्फाबेट (गुगल) को आम्दानी सार्वजनिक हुँदा देखियो । अल्फाबेटले पनि एआईमा १८० देखि १९० अर्ब डलर खर्च गर्ने घोषणा गरेको थियो जुन मेटाको भन्दा पनि बढी हो । तर, अल्फाबेटका प्रमुख वित्त अधिकारीले तथ्यांकसहित लगानीकर्ताहरूलाई आश्वस्त पारे ।
अल्फाबेटको क्लाउड राजस्व ६३ प्रतिशतले बढेको थियो र उसको एआई पूर्वाधारको ब्याकलग (पर्खाइमा रहेको अर्डर) ४६२ अर्ब डलर पुगेको थियो । महत्त्वपूर्ण कुरा त के थियो भने सो अर्डरमध्ये ५० प्रतिशत आगामी दुई वर्षभित्रै राजस्वमा परिणत हुने निश्चित थियो ।
अल्फाबेटको सेयर ७ प्रतिशतले बढ्यो र अप्रिल महिनाभरिमा ३४ प्रतिशतको छलाङ मार्यो ।
यो सन् २०२६ को एआई दौडको एउटा यस्तो मोड हो जहाँ ठूला चार प्रविधि कम्पनीहरूको कुल एआई लगानी ७०० अर्ब डलर नाघ्दैछ । यो लगानीको परिमाण सन् १९९० को दशकको अन्ततिरको डटकम युगको चरम विन्दुसँग मिल्दोजुल्दो छ ।
त्यसबेला पनि कम्पनीहरूले अहिले लगानी गरौं, प्रतिफल पछि आउँछ, हामीलाई विश्वास गर्नुहोस् भन्ने एउटै मन्त्र जप्थे । अमेजन र गुगल जस्ता कम्पनीहरूका लागि त्यो मन्त्र सफल भयो तर पेट्स डटकम र वेबभ्यान जस्ता हजारौं कम्पनीहरूले अर्बौं डलर सिध्याएर इतिहासबाटै हराए ।
अहिलेको बजारले पनि सन् १९९९ को जस्तै फिल्टर प्रयोग गर्न थालेको छ ।
अहिले लगानीकर्ताहरू अब भिजन वा रोडम्याप मात्र सुन्न तयार छैनन् । उनीहरू राजस्व हेर्न चाहन्छन् । अल्फाबेटले आम्दानीको बाटो स्पष्ट देखायो, त्यसैले उसको मूल्य बढ्यो । मेटाले स्पष्ट पार्न सकेन, त्यसैले उसले बजारको विश्वास गुमायो ।
माइक्रोसफ्ट र अमेजन जस्ता दिग्गज कम्पनीहरूले पनि स्पष्ट नाफा देखाउन नसक्दा उनीहरूको सेयर मूल्यमा गिरावट आयो । यो ७०० अर्ब डलरको दौडमा कसले अमेजनको बाटो पछ्याउँछ र को पेट्स डटकम जस्तै बिलाएर जान्छ भन्ने कुराको फैसला अब भाषणले होइन, ढुकुटीमा जम्मा हुने पैसाले गर्नेछ ।






प्रतिक्रिया