निक्षेपकर्ता मारमा परेको विषय संसदीय समितिमा उठ्यो, ब्याजदर बढाउने र महँगी नियन्त्रण गर्ने सुझाव

385
Shares

काठमाडौं । निक्षेपको ब्याजदर घटेर महँगीदर (मुद्रास्फीति) भन्दा कम भएको विषय संसदीय समितिमा उठेको छ । नेपालका बैंकहरूमा सर्वसाधारणले जम्मा गरेको निक्षेपको वास्तविक ब्याजदर ऋणात्मक बन्दा निक्षेपकर्ता मारमा परेको र अर्थतन्त्रमा गम्भीर संकट निम्त्याउने चेतावनी दिइएको हो ।

मुद्रास्फीतिभन्दा बैंकले दिने ब्याजदर कम भएपछि निक्षेपकर्ताहरूले आफ्नो बचतको क्रयशक्ति गुमाइरहेको परिस्थितिमा प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र उपभोक्ता तथा श्रम समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद क्षितिज थेबेले पछिल्लो समय मुद्रास्फीति र ब्याजदरबीचको सन्तुलन बिग्रिएको भन्दै सरकार र राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन् ।

उनले बैंकमा पैसा राख्दा उल्टै घाटा हुने अवस्था आएपछि सर्वसाधारणले बैंकबाट पैसा निकाल्न (विथड्र गर्न) थाल्ने र त्यसले मुलुकमा ‘महाविपत्ति’ निम्त्याउन सक्ने खतरा समेत औंल्याएका छन्।

‘नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांक अनुसार मुलुकको औसत मुद्रास्फीति दर ४.४७ प्रतिशत पुगेको छ । तर, सोही अवधिमा वाणिज्य बैंकहरूले निक्षेपमा दिने भारित औसत ब्याजदर जम्मा ३.४० प्रतिशत मात्रै छ । यसको सिधा अर्थ, बैंकमा पैसा राख्ने निक्षेपकर्ताले वार्षिक १.०७ प्रतिशतका दरले घाटा बेहोर्नुपरेको छ,’ सांसद थेबेले समितिमा भने, ‘वास्तविक ब्याजदर ऋणात्मक हुँदा सर्वसाधारणको क्रयशक्ति घटिरहेको छ ।’

थेबेले औसत ब्याजदरभन्दा मुद्रास्फीति उच्च हुँदा निक्षेपकर्तासँग बैंकमा पैसा राख्ने उत्प्रेरणा नहुने भन्दै थपे, ‘निक्षेपकर्ताले बैंकबाट पैसा निकाल्न थाले भने बैंकहरूले केबाट कर्जा दिने ? भोलि महाविपत्ति आउन सक्छ ।’ उनले सरकार र राष्ट्र बैंकले तत्कालै निक्षेपकर्ताको ब्याजदर बढाउने र महँगी नियन्त्रण गर्ने नीति नल्याए अर्थतन्त्र धराशायी हुने बताए ।

सामान्यतः कर्जाको ब्याजदर बढेका बेला सबैले विरोध गर्ने गरेका छन् । तर, ब्याजदर घटेर निक्षेपकर्तामा परेको मारको विषयमा कोही बोल्ने गरेका थिएनन् । यही विषय संसदको समितिमा उठेको हो ।

निक्षेपकर्ताले बैंकमा राखेको पैसाको आधारमा बैंकले कर्जा प्रवाह गर्दछन् र सोही कर्जा लिएर उद्यमीले उद्योग व्यवसाय गर्छन् ।

हाल बैंक तथा वित्तीय संस्थामा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १२३ प्रतिशत बराबर निक्षेप रहेको छ । तर, यी निक्षेपकर्ता पक्षमा कोही बोलिदिने गरेका थिएनन् । अहिले भने पहिलोपटक निक्षेपकर्ता वास्तविक उपभोक्ता रहेको भन्दै उनीहरूको विषय सांसदमा उठेको हो ।

क्लिकमान्डुले समयसमयमा निक्षेपको ब्याजदर मुद्रास्फीतिभन्दा कम हुँदा बैंकमा राख्ने रकम घट्ने भन्दै समाचार सम्प्रेषण गर्ने गरेको छ ।