
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले राजीनामा नदिएको बताएको छ ।
केही सञ्चारमाध्यम र सामाजिक सञ्चालमा पाण्डेले राजीनामा दिएको विवरणहरूको खण्डन गर्दै बैंकले राजीनामाको खबरलाई ‘भ्रामक, आधारहीन तथा तथ्यहीन’ भनेको छ ।
बैंकले विज्ञप्ति जारी गर्दै पाण्डेले पदबाट राजीनामा दिएको भन्दै प्रसारित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बैंकका प्रमुख कार्यकारी अधिकृत आफ्नो जिम्मेवारीमा सक्रिय रही बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा निरन्तर खटिरहनुभएको जानकारी गराइन्छ ।’
बैंकले आधिकारिक स्रोतबाट पुष्टि नगरी यस्ता संवेदनशील विषयमा समाचार सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चारमाध्यम तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।
साथै, बैंकले आफ्ना ग्राहक, सेयरधनी तथा आम सर्वसाधारणको विश्वास र प्रतिबद्धतालाई कायम राख्दै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न आफू सदैव कटिबद्ध रहेको समेत पुनरावृत्ति गरेको छ ।










प्रतिक्रिया