सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि आवेदन आह्वान

70
Shares

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ ।

अध्यक्ष तथा विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले शुक्रबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो ।

सूचनाअनुसार सहकारी ऐन, २०७४ को दफा १०३ (ङ) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी मापदण्ड, २०८३ बमोजिम आवेदन माग गरिएको हो ।

अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । साथै बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा पाँच वर्ष कार्यकारी प्रमुख वा कार्यकारी अनुभव हासिल गरेको हुनुपर्नेछ ।

त्यस्तै, विज्ञ सदस्य पदका लागि पनि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्था वा सहकारी क्षेत्रमा कम्तीमा दश वर्ष कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

अध्यक्ष र विज्ञ सदस्य दुवै पदका लागि उम्मेदवारको उमेर ६० वर्ष ननाघेको तथा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको हुनुपर्नेछ ।

दरखास्त दिने उम्मेदवारले व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभव खुल्ने कागजात, स्वास्थ्य प्रमाणपत्र, स्वघोषणा लगायतका कागजात पेश गर्नुपर्नेछ । साथै उम्मेदवारले सहकारी क्षेत्र सुधार, नियमन तथा व्यवस्थापनसम्बन्धी अवधारणापत्रसहित व्यावसायिक कार्ययोजना पनि पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

समितिले व्यावसायिक कार्ययोजना नेपाली भाषामा ए–४ साइजको कागजमा कम्प्युटर टाइप गरिएको हुनुपर्ने जनाएको छ । कार्ययोजना बढीमा ५ हजार शब्दको हुनुपर्नेछ ।

दरखास्त बुझाउने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको छ । आवेदन राष्ट्रिय सहकारी नियमन प्राधिकरण, पुल्चोक, ललितपुरमा बुझाउन सकिनेछ ।

आवेदन दस्तुर पाँच हजार रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको वेबसाइटमा हेर्न सकिने जनाइएको छ ।