स्थानीय तहलाई कम्पनी खोल्न र सेयर लगानी गर्न बाटो खुल्यो

882
Shares

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई आफैं कम्पनी दर्ता गर्न र विभिन्न कम्पनीको सेयर खरिद गर्न पाउने व्यवस्था गरेको छ । विभिन्न स्थानीय तहहरूबाट सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना र लगानीका लागि माग भई आएपछि कार्यालयले यस्तो निर्णय गरेको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचना अनुसार अब स्थानीय तहहरूले प्रचलित कानूनको परिधिभित्र रही व्यावसायिक क्षेत्रमा लगानी गर्न र कम्पनीको स्वामित्व लिन सक्नेछन् । यसअघि स्थानीय तहहरूले कम्पनीमा लगानी गर्ने वा व्यावसायिक कम्पनी दर्ता गर्ने विषयमा स्पष्ट कानूनी प्रावधानको अभाव महसुस भइरहेको थियो ।

कम्पनी दर्ता र लगानीका लागि दुईवटा मुख्य सर्तहरू राखिएका छन् । पहिलो, कम्पनी दर्ता वा सेयर खरिद गर्नुअघि सम्बन्धित स्थानीय तहले यस सम्बन्धमा आफ्नै कानून (ऐन वा नियमावली) बनाएर कार्यपालिका वा सभाबाट औपचारिक निर्णय गर्नुपर्नेछ । दोस्रो, सम्पूर्ण प्रक्रिया ‘कम्पनी ऐन, २०६३’ र अन्य प्रचलित संघीय कानूनहरू बमोजिम हुनुपर्नेछ ।

विशेषगरी सौर्य ऊर्जा जस्ता उत्पादनमुलक क्षेत्रमा स्थानीय तहको संलग्नता बढाउन यो निर्णय कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । यो व्यवस्थाले स्थानीय तहहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न र सार्वजनिक-निजी साझेदारी मोडलमा काम गर्न थप सहज बनाउनेछ ।

Skip This