२ बिमा कम्पनी कारबाहीमा, सलिकोलाई २ लाख र लर्ड बुद्ध ब्रोकिङलाई ५ हजार जरिवाना

539
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रि-इन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई कारबाही गरेको छ ।

प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीलाई सम्पत्ति बिमा निर्देशन २०८० को दफा २५ (२)को व्यवस्था पालना नगरेको भन्दै कारबाही गरेको छ ।

सम्पत्ति बिमा निर्देशन २०८० को दफा मा बिमादर अनुसार बिमाशुल्क लिनुपर्ने व्यवस्था छ जसको (२) मा निर्देशन बमोजिम ‘जारी गरिने बिमालेखको बिमाशुल्कमा कुनै प्रकारको छुट (डिस्काउन्ट), रिहायत, कटौति वा सहुलियत दिन पाइने छैन’ भन्ने छ।

तर, यो व्यवस्थाको पालना नगरेको भन्दै सगरमाथा लुम्बिनीलाईलाई प्राधिकरणले कारबाही गरेको हो ।

प्राधिकरणले बिमा ऐन २०७९ को दफा १३८ को उदफा (४) खण्ड (क) बमोजिम (पहिलो पटक) भएकाले दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

यस्तै, प्राधिकरणले लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई पुनर्बिमा दलालसम्बन्धी निर्देशिक, २०७८ को दफा १५ को उपदफा (१) र (२) व्यवस्था पालना नगरेको भन्दै कारबाही गरेको छ ।

पुनर्बिमा दलालसम्बन्धी निर्देशिक, २०७८ को दफा १५ मा स्वामित्व परिवर्तन सम्बन्धी व्यवस्था छ ।

यसको (१)मा पुनर्बिमा दलालको इजाजतपत्र प्राप्त संगठित सँस्था समितिको स्वीकृति बिना हस्तान्तरण हुन, स्वामित्व परिवर्तन गर्न तथा विघटन गर्न पाइने छैन भनिएको छ र (२) मा पुनर्बिमा दलालको इजाजतपत्र प्राप्त संस्थाले स्वामित्व परिवर्तन गर्न चाहेमा सो को कारण खोली समिति समक्ष निवेदन दिन सक्नेछ भन्ने व्यवस्था छ ।

यहि व्यवस्था पालना नगरेको भन्दै लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङलाई बिमा ऐन, २०७९ को दफा १३८ को उपदफा (६) को खण्ड (क) बमोजिम (पहिलो पटक) भएकाले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ ।