व्यवसायको सुरक्षा गर्न ‘र्‍यापिड रेस्पोन्स सिस्टम’ कार्यान्वयनमाः २४सै घण्टा हटलाइन र सीसीटीभीबाट निगरानी

क्लिकमान्डु अध्ययन प्रतिवेदनको सुझाव सरकारले कार्यान्वयनमा ल्यायो

2.3k
Shares

क्लिकमान्डुले गरेको जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास तथा व्यावसायिक वातावरण शीर्षकको अध्ययन प्रतिवेदनले र्‍यापिड रेस्पोन्स सिस्टम कार्यान्वयन गर्न सुझाव दिएको थियो ।

काठमाडौं । सरकारले मुलुकमा औद्योगिक तथा व्यावसायिक सुरक्षालाई सुदृढ बनाउन र लगानीकर्ताको मनोबल उच्च राख्न नयाँ संरचनात्मक र कार्यात्मक संयन्त्र कार्यान्वयनमा ल्याएको छ । गृह मन्त्रालयले ‘औद्योगिक तथा व्यावसायिक सुरक्षा सुदृढीकरणका लागि आवश्यक संरचना तथा द्रुत प्रतिकार्य संयन्त्र’ (र्‍यापिड रेस्पोन्स सिस्टम) सम्बन्धी अवधारणा स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो ।

मन्त्रिपरिषद्को गत २०८२ चैत्र १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १०० कार्य सूचीमा आधारित भई गृह मन्त्रालयको २०८३ वैशाख १४ गतेको निर्णयानुसार यो नयाँ व्यवस्था लागू गरिएको हो । निजी क्षेत्रको उद्यम र व्यवसायमा सुरक्षाको प्रत्याभूति दिलाउनु यसको मुख्य उद्देश्य रहेको छ ।

नयाँ व्यवस्थाअनुसार प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को अध्यक्षतामा ‘जिल्ला औद्योगिक तथा व्यावसायिक सुरक्षा समन्वय समिति’ गठन गरिनेछ । समितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका स्थानीय प्रमुखहरू सदस्य रहनेछन् ।

निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न जिल्लास्थित व्यावसायिक संगठनका अध्यक्ष वा प्रतिनिधि र सदस्य-सचिवमा सहायक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था गरिएको छ । यो समितिले जिल्लाको औद्योगिक सुरक्षाको विश्लेषण गरी विशेष कार्ययोजना बनाउने र कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ ।

२४ सै घण्टा ‘हटलाइन’ र निगरानी

औद्योगिक सुरक्षालाई प्रविधिमैत्री बनाउन सरकारले उद्योगीहरूलाई आधुनिक उपकरण र प्रविधिमार्फत २४ सै घण्टा निगरानी (सीसीटीभी) गर्ने व्यवस्था मिलाउन प्रोत्साहित गर्ने भएको छ । साथै, प्रत्येक जिल्लास्थित जिल्ला आपतकालीन सञ्चालन केन्द्रमा रहेको हटलाइनलाई ‘औद्योगिक सुरक्षा हटलाइन’ को रूपमा २४ सै घण्टा सञ्चालन गरिनेछ ।

द्रुत प्रतिकार्य टोली र गस्ती

कुनै पनि औद्योगिक क्षेत्रमा हुनसक्ने सम्भावित घटनालाई तत्काल नियन्त्रण गर्न सुरक्षा निकायहरूमा ‘द्रुत प्रतिकार्य टोली’तयारी अवस्थामा राखिने भएको छ । उद्योग व्यवसायको नजिकको सुरक्षा एकाइमा एक ‘सुरक्षा सम्पर्क व्यक्ति’तोकिनेछ ।

यसका साथै वस्तु तथा सेवाको निर्वाध आपूर्तिका लागि राजमार्ग र रणनीतिक मार्गहरूमा सुरक्षा निकायले निरन्तर गस्ती गर्नेछन्। आन्दोलनका क्रममा औद्योगिक प्रतिष्ठानबाट लुटिएका सामान फिर्ता गर्न विशेष खोज अभियान समेत सञ्चालन गरिने अवधारणा पत्रमा उल्लेख छ ।

लगानीकर्ताको विश्वास बढ्ने

गृह मन्त्रालयले औद्योगिक क्षेत्र र सुरक्षा निकायबीचको दूरी र पहुँचको समय यकिन गरी अभिलेख राख्ने व्यवस्था मिलाएको छ । उद्योग व्यवसायमा हुने आपराधिक घटनामा तत्काल जाहेरी दर्ता गर्ने र संलग्नलाई नियन्त्रणमा लिई कडा कानुनी कारबाही अगाडि बढाउने प्रतिबद्धता सरकारले जनाएको छ ।

समितिको बैठक महिनाको कम्तिमा एक पटक अनिवार्य बस्नुपर्ने र आवश्यकता अनुसार जुनसुकै समयमा बस्न सक्ने गरी कार्यविधि बनाइएको छ । यो कदमले निजी क्षेत्रको लगानी सुरक्षामा ठोस सुधार आउने र औद्योगिक वातावरण थप सकारात्मक बन्ने विश्वास लिइएको छ । निजी क्षेत्रका अगुवा छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतले लामो समयदेखि यस्तो माग गर्दै आएका थिए ।

क्लिकमान्डुले दिएको थियो सुझाव

क्लिकमान्डुले गरेको जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास तथा व्यावसायिक वातावरण शीर्षकको अध्ययन प्रतिवेदनले र्‍यापिड रेस्पोन्स सिस्टम कार्यान्वयन गर्न सुझाव दिएको थियो ।

प्रतिवेदनले व्यवसायीको मनोबल जेनजी आन्दोलनपछि अत्यन्तै कमजोर रहेको देखाएको थियो । प्रतिवेदनअनुसार ९८ प्रतिशत लगानीकर्ताको मनोबल कुनै न कुनै स्तरमा खस्किएको थियो भने ९७ प्रतिशत व्यवसायीले लगानीको वातावरण कमजोर भएको महसुस गरेका थिए ।

भौतिक आक्रमणले गर्दा ७० प्रतिशत व्यवसायीहरू थप लगानीका लागि ‘पर्ख र हेर’ को अवस्थामा पुगिरहेको अवस्थामा नयाँ सरकारले गरिरहेको धरपकडले त्यसलाई थप बढाएको छ । यसले गर्दा नयाँ उद्योग खुल्ने र रोजगारी सिर्जना हुने प्रक्रिया ठप्प हुने जोखिम बढेको छ।

दलहरूले निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिन मान्दै व्यावसायिक आत्मविश्वास बढाउने दाबी त गरेका छन्, तर व्यवहारमा भने व्यवसायीहरू मनोवैज्ञानिक त्रासमा बाँच्नुपरेको छ ।

राज्यले तत्काल शान्ति सुरक्षाको प्रत्याभूति र विधिको शासन पुनर्बहाली नगर्ने हो भने मुलुकबाट बौद्धिक र आर्थिक पुँजी पलायन हुने निश्चित छ।

यस्तो परिस्थितमा क्लिकमान्डुले अध्ययन प्रतिवेदनमार्फत् सरकारले थप सुरक्षा र कानूनी प्रत्याभूति दिनुपर्ने आवश्यकता रहेको औंल्याएको थियो । क्लिकमान्डुको सुझाव थियो, ‘औद्योगिक सुरक्षा बल स्थापना र उद्योग वाणिज्य तथा सेवा क्षेत्रलाई ‘विशेष सुरक्षा क्षेत्र’ घोषणा गरी छुट्टै सुरक्षा संयन्त्र वा द्रुत सुरक्षा प्रतिक्रिया प्रणाली (र्‍यापिड रेस्पोन्स सिस्टम) विकास गर्नुपर्ने देखिन्छ ।’ लुटपाट, तोडफोड र आगजनीमा संलग्नलाई राजनीतिक संरक्षण नदिई तत्काल कानूनी दायरामा ल्याउन आवश्यक कानूनी प्रबन्ध गर्नुपर्ने सुझाव क्लिकमान्डुको थियो ।

चैत्र १३ गते वालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि बसेको मन्त्रिपरिषदको पहिलो बैठकले शासकीय सुधार सम्बन्धी सय कार्य सूची तयार पारेको थियो । कार्यसूचीमा औद्योगिक तथा व्यावसायिक सुरक्षा सुदृढीकरणका लागि आवश्यक संरचना तथा द्रुत प्रतिकार्य संयन्त्र स्थापना गर्ने विषय उललेख थियो । क्लिकमान्डुको सुझावसमेत रहेको मन्त्रिपरिषदको सोही निर्णयलाई कार्यान्वयनमा ल्याउन गृह मन्त्रालयले द्रुत प्रतिकार्य संयन्त्र कार्यान्वयनमा ल्याएको हो ।