बीपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

56
Shares

काठमाडौं । बीपी राजमार्ग अन्तर्गतको खुर्कोट-भकुन्डेबेंसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले सूचना जारी गर्दै तोकिएको समयमा सवारी आवागमनमा पूर्णरूपमा रोक लगाइएको जनाएको छ ।

तोकिएको अवधी पश्चात पनि वर्षा, रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक लगाउन सकिने प्रशासनले जारी गरेको विज्ञप्तमा उल्लेख छ ।

बीपी राजमार्गको कटुन्जेबेंसी (काभ्रे)-नेपालथोक (सिन्धुली) सडकखण्डमा यात्रा गर्नुपूर्व सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

सोमबार राति रोशी खोलामा एक्कासी बाढी आउँदा बीच खोलामा माइक्रो बसमा सवार ८१ यात्रुहरु अलपत्र परेका थिए। ती सवारी साधन र यात्रीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको थियो ।