
एजेन्सी । जोसेफ विजय चन्द्रशेखरले अब तमिलनाडुको राजनीतिमा नयाँ थलपतिका रूपमा आफ्नो वर्चस्व दृढताका साथ स्थापित गरेका छन् ।
विधानसभा निर्वाचनको मतपरिणाम वर्तमान रुझान अनुसार, उनको टीभीके पार्टी तमिलनाडु चुनाव २०२६ मा सबैभन्दा ठूलो दलको रूपमा उदय भएको छ । पहिलोपटक चुनावी मैदानमा उत्रिएको यो पार्टी करिब १०० सिटमा अगाडि छ र सिट संख्याको आधारमा डीएमकेलाई तेस्रो स्थानमा धकेलेको छ । यस परिणामले राज्यको राजनीतिक परिदृश्यमा नाटकीय परिवर्तनको संकेत गर्छ ।
लामो समयदेखि द्रविड दिग्गजहरू डीएमके र एआईएडीएमकेको दबदबा रहेको राज्यमा विजयको राजनीतिक प्रवेशलाई सुरुमा शंकाको दृष्टिले हेरिएको थियो । उनको उपहास गरियो, कानुनी अवरोधहरूको सामना गर्नुपर्यो र राजनीतिमा भाग्य अजमाउन खोज्ने अर्को फिल्म स्टारको रूपमा खारेज गरियो । तर, प्रारम्भिक रुझानहरू आउन थालेपछि परिदृश्य द्रुत रूपमा परिवर्तन भयो र यसले पर्यवेक्षक र आलोचकहरू दुवैलाई अचम्ममा पारिदियो ।
‘थलपति विजय’ को नामले चर्चित जोसेफ विजय चन्द्रशेखर बाल कलाकारबाट दक्षिण भारतको सबैभन्दा धेरै पारिश्रमिक लिने र प्रभावशाली कलाकारहरूमध्ये एक बनेका छन् । तीन दशकभन्दा लामो करियरमा उनको कुल सम्पत्ति करिब ६०० करोड भारु रहेको बताइएको छ । सुरुवाती दिनहरूमा आफ्ना पिता तथा फिल्म निर्माता एस. ए. चन्द्रशेखरको मार्गदर्शन पाएका विजयको उदयलाई लगनशीलता र आत्मसुधारले परिभाषित गरेको छ ।
उनले १० वर्षको उमेरमा सन् १९८४ को फिल्म वेत्रीबाट अभिनय सुरु गरे र पछि १९९२ मा नालैया थीरपुबाट मुख्य अभिनेताको रूपमा डेब्यु गरे । उनले पूवे उनाक्कागाबाट सफलता पाए जसले उनलाई रोमान्टिक नायकको रूपमा स्थापित गर्यो र उनको फ्यान फलोइङलाई उल्लेखनीय रूपमा बढायो ।
सुरुका वर्षहरूमा विजयले एउटा फिल्मबाट ५ हजार भारु जति मात्रै पारिश्रमिक पाउने गरेको बताइन्छ । सुस्त सुरुवात र केही औसत फिल्महरूको बाबजुद उनले बिस्तारै आफ्ना बफादार दर्शकहरू बनाए र अन्ततः एक मुख्यधारका मास हिरोका रूपमा आफूलाई रूपान्तरण गरे ।
विजयका फिल्महरूले सधैं पारिवारिक दर्शकहरूलाई आकर्षित गरेका छन् जसले बक्स अफिसमा उनको बलियो स्थितिलाई थप मजबुत बनाएको छ । यस व्यापक लोकप्रियताले उनलाई ठूला प्रोडक्सन हाउसहरूको समर्थन र सुपरस्टार्डम तर्फको निरन्तर यात्रामा मद्दत गर्यो ।
उनको फिल्मी पहिचान करियरसँगै विकसित भयो— इलायाथलपतिदेखि थलपतिसम्म जुन उनको बढ्दो सांस्कृतिक र फ्यानहरूको प्रभावको प्रतिबिम्ब हो । २२ जुन १९७४ मा चेन्नईमा जन्मिएका विजयको वृद्धिको मुख्य चरण १९९० को दशकको अन्त्य र २००० को दशकको सुरुमा लभ टुडे, थुल्लाथा मनमुम थुल्लुम, कुशी र घिल्ली जस्ता फिल्महरूसँगै आयो ।
पछि उनले थुप्पाक्की, कथी, मेर्सल, मास्टर, बिस्ट, लियो र द ग्रेटेस्ट अफ अल टाइम जस्ता ठूला व्यावसायिक सफलताहरू दिएर भारतीय सिनेमाका ठूला कलाकारहरूमाझ आफ्नो स्थान पक्का गरे ।
फिल्महरू बाहेक, विजयले ब्रान्ड इन्डोर्समेन्ट, परोपकार र फ्यानहरूसँगको बलियो संलग्नतामार्फत एक शक्तिशाली सार्वजनिक छवि बनाएका छन् । वर्षौंको अन्तरालमा उनले फिल्म करियर मात्र नभई प्रभावशाली व्यक्तिगत ब्रान्ड पनि निर्माण गरेका छन् ।
अब उनको राजनीतिमा प्रवेशसँगै त्यो लोकप्रियता चुनावी शक्तिमा परिणत भइरहेको छ । कुनै समय जसले बक्स अफिसको अंक निर्धारण गथ्र्यो, त्यसैले अहिले राजनीतिक माहोल बनाइरहेको छ ।
उनको फिल्म पोक्किरीको एउटा प्रसिद्ध संवाद छ, “नी पढिचा स्कुल ला नान हेडमास्टर दा” (जुन स्कुलमा तिमीले पढ्यौ, म त्यहाँको हेडमास्टर हुँ) । आज विजयले आफूलाई तमिलनाडुको राजनीतिक विद्यालयमा नयाँ हेडमास्टरको रूपमा स्थापित गरिरहेका छन् ।






प्रतिक्रिया