चीन र पाकिस्तानको निगरानीका लागि भारतले ल्यायो ‘दृष्टि’ भूउपग्रह

70
Shares

एजेन्सी । भारतको बेंगलुरुमा रहेको अन्तरिक्ष स्टार्टअप ‘ग्यालेक्स–आई’ ले आइतबार स्पेसएक्सको फाल्कन–९ रकेटमार्फत आफ्नो पहिलो व्यावसायिक उपग्रह ‘दृष्टि’ लाई सफलतापूर्वक अन्तरिक्ष कक्षमा स्थापित गरेको छ ।

यसलाई विश्वकै पहिलो अप्टोसार उपग्रह भन्दै उक्त कम्पनीले यो प्रक्षेपण पृथ्वी अवलोकन प्रविधिमा एक कोशेढुंगा साबित हुने र यसले विश्वव्यापी अन्तरिक्ष क्षेत्रमा भारतको बढ्दो क्षमतालाई थप मजबुत बनाउने बताएको छ ।

‘१९० केजी तौल भएको मिसन दृष्टि भारतको सबैभन्दा ठूलो निजी स्तरमा विकसित पृथ्वी अवलोकन उपग्रह हो । यो इलेक्ट्रो–अप्टिकल र सिन्थेटिक एपर्चर रेडार सेन्सरहरूलाई एउटै परिचालन प्लेटफर्ममा एकीकृत गर्ने विश्वकै पहिलो उपग्रह हो जसले सबै किसिमका मौसममा दिन र रात दुवै समयमा फोटो खिच्ने क्षमता राख्छ,’ कम्पनीले भन्यो ।

बादल, अन्धकार र खराब मौसममा पनि देख्न सक्ने र साथै परम्परागत अप्टिकल तस्बिरहरू पनि खिच्न सक्ने दृष्टिले सिंकफ्युज्ड अप्टोसार भनी कम्पनीले उल्लेख गरेको पेलोड बोकेको छ । त्यसमा इलेक्ट्रो–अप्टिकल इमेजिङ र सिन्थेटिक एपेर्चर रेडारलाई एउटै प्लेटफर्ममा संयोजन गरिएको छ ।

अप्टिकल उपग्रहहरूले उच्च रिजोलुसनका परम्परागत तस्बिरहरू प्रदान गर्छन् तर ती बादल र अन्धकारबाट प्रभावित हुन्छन् । अर्कोतर्फ, रेडार उपग्रहहरूले दिनरात काम गर्न सक्छन् र बादल, धुवाँ र वर्षालाई पनि छिचोल्न सक्छन् । तर, तिनले खिचेका तस्बिरहरूको विश्लेषण गर्न केही कठिन हुन्छ ।

दुवै प्रकारका तथ्यांकलाई संयोजन गरेर यस उपग्रहले जमिनमा रहेका प्रयोगकर्ताहरूका लागि थप सुसंगत र उपयोगी तस्बिरहरू उत्पादन गर्न सक्ने ग्यालेक्स–आईले बताएको छ ।

यस अन्तरिक्षयानले सीमा निगरानी र रक्षा अनुगमनदेखि विपद् प्रतिकार्य, कृषि, पूर्वाधार योजना र बिमा मूल्यांकनसम्मका क्षेत्रहरूमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

उदाहरणका लागि, बाढी, चक्रवात वा पहिरोका बेला बादलले गर्दा अप्टिकल उपग्रहहरूले तस्बिर लिन नसकेको अवस्थामा पनि रेडार इमेजिङले काम जारी राख्न सक्छ ।

‘यसमा रहेको अर्को मुख्य विशेषता एनभिडियाको जेटसन ओरिन कम्प्युटिङ प्लेटफर्मद्वारा सञ्चालित कृत्रिम बुद्धिमत्ता (एआई) प्रोसेसिङ हो । विश्लेषणका लागि ठूलो मात्रामा कच्चा तस्बिरहरू पृथ्वीमा पठाउनुको सट्टा प्रोसेसिङको केही भाग सिधै अन्तरिक्ष कक्षमै हुनेछ ।

उपग्रहका तस्बिरहरूलाई उपयोगी जानकारीमा परिणत गर्न लाग्ने समय घटाउनु यसको उद्देश्य हो,’ ग्यालेक्स–आईका सहसंस्थापक र सीईओ सुयश सिंहले बताए ।

ग्यालेक्स–आईका अनुसार, यस उपग्रहले १.५ मिटरको रिजोलुसनमा तस्बिरहरू उपलब्ध गराउन सक्छ र विश्वका कुनै पनि स्थानको हरेक ७ देखि १० दिनमा पुनः अवलोकन गर्न सक्छ । सानो रेफ्रिजेरेटर आकारको यो अन्तरिक्ष यानले साढे तीन मिटर लामो फैलाउन मिल्ने एन्टेना पनि बोकेको छ ।

यसअघि कम्पनीले ड्रोन, सेसना विमान र उच्च–अल्टिच्युड प्लेटफर्महरू प्रयोग गरी करिब ५०० वटा हवाई उडानमार्फत आफ्नो इमेजिङ प्रणालीको परीक्षण गरेको थियो । साथै, इसरोको पीएसएलभी मिसन अन्तर्गत पोयम प्लेटफर्ममा पनि यसअघि एउटा पेलोड पठाइएको थियो ।

यस परियोजनाप्रति रक्षा र नागरिक दुवै निकायहरूले चासो देखाएका छन् । कम्पनीले रक्षा र कृषि मन्त्रालय लगायत भारत सरकारका धेरै विभागहरूसँग छलफल भइरहेको बताएको छ भने डिफेन्स स्पेस एजेन्सी, भारतीय वायुसेना, सेना र जलसेना जस्ता निकायहरूले यो कार्यक्रमलाई नजिकबाट नियालिरहेका छन् ।

Skip This