
काठमाडौं । नेपाल चिया विकास निगमले प्राथमिक सेयर निष्कासन (आइपीओ) गर्ने योजना बनाएको छ । टोकला चिया उत्पादन गर्ने निगमले आईपीओका लागि इस्युअर रेटिङ गराएको हो ।
निगमले गत आर्थिक वर्षमा १ अर्ब ९ करोड ४० लाख रुपैयाँको चिया बिक्री गरेको छ । निगमले सन् २०२४ मा ९७ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब १ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् १९७४ मा पब्लिक कम्पनीमा रुपमा दर्ता भई सञ्चालनमा आएको कम्पनीको करिब दुईतिहाई स्वामित्व सन् २००० मा त्रिवेणी ग्रुपले खरिद गरेको थियो । निगमले ७ वटा चिया क्षेत्रको चिया संकलन र प्रशोधन गर्दै आएको छ । निगम नेपालको चिया उत्पादन क्षेत्रको सबैभन्दा ठूलो उत्पादक हो । निगमले १ हजार ८७ हेक्टर क्षेत्रफलमा (१ हजार ६ सय १७ हेक्टर क्षेत्रफलमा चिया खेती सकिने) चिया उत्पादन गर्दै आएको छ ।
निगमले उत्पादन गरेको चिया ‘टोकला’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । निगमले स्वदेश तथा विदेशी बजारमा कारोबार गर्दै आएको छ । संघाई परिवारको त्रिवेणीसँग नेपाल चिया विकास निगम प्रालिको ६५ प्रतिशत स्वामित्व छ । बाँकी स्वामित्व नेपाल सरकारको छ । जसमा कृषि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र राष्ट्रिय योजना आयोगको ७/७ प्रतिशत स्वामित्व छ ।
निगमले आईपीओ जारी गरेर संकलन गरेको रकमबाट चिया बगान क्षेत्र विस्तार र एड्भेन्चर पार्कतर्फको पुँजीगत खर्चका लागि आवश्यक ऋणलाई नियन्त्रणमा राख्दै यसको समग्र वित्तीय तथा सञ्चालन प्रोफाइललाई मजबुद बनाउने अपेक्षा गरेको छ ।
सन् २०२५ को जुलाईसम्म चालु पुँजीको ड्रइङ पावरमा पर्याप्त हेडरुम (९८ प्रतिशत, झण्डै २७ करोड ८० लाख रुपैयाँ) रहेकोले निगमको तरलता अवस्था सहज रहेको देखिन्छ । सोही अवधिमा करिब ३३ प्रतिशत रहेको उच्च चालु पुँजी इन्टेन्सिटीबाट उत्पन्न चिन्तालाई ठूलो हदसम्म न्यून गर्ने जनाएको छ ।
रेटिङले गरेको मूल्याङ्कनले चिया उत्पादक उद्योगको सकारात्मक भविष्य परिदृश्यलाई पनि ध्यानमा राखेको जनाएको छ । नेपालमा आन्तरिक बजार तथा अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग र उपभोगले सकारात्मक रहेको जनाएको हो । निर्यात प्रवद्र्धनका लागि सरकारद्वारा ल्याइएका विभिन्न नीतिहरूले पनि निगम जस्ता कम्पनीहरूका लागि सकारात्मक प्रभाव पार्ने निगमको भनाइ छ । नेपालको चिया उद्योगको अधिकांश आम्दानी निर्यातबाट हुने गरेको छ ।
आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको निगमले सीटीसी चिया, अर्थोडक्स र ग्रीन टी पनि प्रशोधन गर्दै आएको छ । निगमले ८० प्रतिशत कारोबार प्याकेज्ड चियाबाट हुने गरेको उल्लेख छ । उक्त प्याकेज्ड चिया आन्तरिक बजारमा उच्च बिक्री हुने निगमको भनाइ छ । तर, थोक बिक्री (अनब्रान्डेड चिया) सबैभन्दा बढी निर्यात हुने गरेको जनाएको छ । निगमका अनुसार गत आवमा निर्यात थोक बिक्रीबाट ९८ प्रतिशतदेखि ९९ प्रतिशत कारोबार भएको छ ।
आईपीओ जारी गर्न गराएको रेटिङमा कम्पनीले इक्रा एप्लस रेटिङ पाएको छ । यो रेटिङले कम्पनीसँग वित्तीय दायित्व समयमै पूरा गर्ने सन्दर्भमा ‘पर्याप्त मात्रामा सुरक्षित’ र ‘न्यून क्रेडिट जोखिम’ रहेको संकेत गर्छ ।
कम्पनीको वित्तीय स्थिति विश्लेषण गर्ने हो भने सन् २०२५ मा कम्पनीको नाफा मार्जिन १०.४% र खुद नाफा ५.९% छ । कम्पनी पूर्ण ऋणमुक्त अवस्थामा छ । यो कम्पनीको वित्तीय सबलताको धेरै महत्वपूर्ण पक्ष हो । यसैगरी कम्पनीको करेन्ट रेसियो ४.३ गुणा छ, जुन धेरै बलियो मानिन्छ ।





प्रतिक्रिया