
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सीमावर्ती क्षेत्रमा १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने सरकारको पछिल्लो नीतिलाई ‘अव्यवहारिक र हेपाहा’ को संज्ञा दिएका छन् ।
सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीको भ्रमण गरी फर्किएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले यो नीतिले मधेसका नागरिकको दैनिकी कष्टकर बनाएको उल्लेख गरेका हुन् ।
सीमा क्षेत्रका बासिन्दासँगको अन्तर्क्रियापछि महामन्त्री थापाले राज्यको चरित्रमाथि नै प्रश्न उठाएका छन् । ‘एउटा बिस्कुटको प्याकेट बोक्दा मजदुरले दुई घण्टा रोकिनुपर्ने र पहिले सम्मानका साथ हिँड्ने महिलाहरू अहिले डरका साथ सीमा पार गर्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले भनेका छन्, ‘यो नीतिले मधेसको भान्सामा अवरोध खडा गरेको छ र नागरिकको आत्मसम्मानमा चोट पुर्याएको छ ।’
थापाले यो व्यवस्था नयाँ नभई पहिलेदेखि नै कानुनमा रहेको र आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा पनि कायमै रहेको स्वीकार गरेका छन् ।
यद्यपि, यसको अव्यवहारिकता बुझेर विगतमा लागू नगरिएको दाबी गर्दै उनले समयमै कानुन सुधार्न नसक्नुलाई राजनीतिक कमजोरीका रूपमा आत्मसात गरेका छन् । उनले भनेका छन्,’विगतमा सच्याउन नसक्नु हाम्रो कमजोरी थियो, तर यसलाई सच्याउने जिम्मा अब हाम्रै हो ।’
स्वयम् भन्सार विभागले नै यसबाट उल्लेखनीय राजस्व नउठ्ने स्वीकार गरिसकेको उल्लेख गर्दै थापाले प्रश्न गरेका छन् ,’राजस्व नउठ्ने भए यो दुःख आखिर किन र कसका लागि ?’ उनका अनुसार यो नीतिले ठूला तस्करलाई नभई दैनिक मजदुरी गर्ने, विद्यार्थी, किसान र श्रमिक वर्गलाई मात्र मारमा पारेको छ ।
महामन्त्री थापाले सीमामा देखिएको यो असहजता अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।’यो अव्यवहारिक निर्णय तत्काल फिर्ता लिइयोस् र सीमामा पहिलेकै जस्तो सहजता सुनिश्चित गरियोस् ।’ सीमा क्षेत्र राष्ट्रको किनारा मात्र नभई संस्कृति र विश्वासको जीवित सङ्गम भएको भन्दै राज्यले नागरिकलाई सजाय दिने खालका नीति ल्याउन नहुनेमा उनले जोड दिए ।









प्रतिक्रिया