विपद्पछिको उद्धार–राहतका लागि सुकुम्बासीको विवरण संकलन: नेपाली सेना

42
Shares

काठमाडौं । नेपाली सेनाले सुकुम्बासीहरूको विवरण संकलन विपद्पछिको उद्धार, राहत वितरण र पुनर्स्थापनालाई सहज बनाउन गरिएको दाबी गरेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वर्षायाममा बाढी, पहिरो, डुबान र नदी कटानबाट उच्च जोखिम रहने क्षेत्रलाई ध्यानमा राख्दै यस्तो तयारी गरिएको हो ।

सेनाले विगतका विपद्का घटनाबाट सिक्दै सरोकारवाला निकायसँग समन्वय बढाएको र मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारी अघि बढाएको जनाएको छ ।

सञ्चारमाध्यममा सुकुम्बासीहरूको विवरण मागिएको विषयमा उठेका प्रश्नप्रति स्पष्ट पार्दै सेनाले उक्त विवरण सम्भावित जोखिम पहिचान र विपद्का बेला तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन आवश्यक रहेको बताएको छ । यसले प्रभावित क्षेत्रका बासिन्दालाई छिटो सहायता पुर्‍याउन सहयोग गर्ने सेनाको भनाइ छ ।

त्यसैगरी, सम्भावित जोखिमयुक्त स्थानमा सुरक्षा फौज तयारी अवस्थामा राखिएको र उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका कामलाई व्यवस्थित गर्न ‘हाजार्ड म्यापिङ’ सम्बन्धी विवरण अद्यावधिक गरिँदै आएको जनाइएको छ ।

नेपाली सेनाले विपद् व्यवस्थापनमा सबै निकायको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै नागरिकलाई सम्भावित जोखिमबारे सचेत रहन आग्रह गरेको छ ।