
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछानेले सेवा–संस्कार सुधार, मन्त्रालयगत समन्वय र सुधारमुखी कानुनी अभ्यासलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।
बैठकमा उनले सांसद र मन्त्रीबीच नियमित अन्तरक्रिया आवश्यक रहेको उल्लेख गर्दै मन्त्रालयका सचिवसहित निश्चित समय अन्तरालमा मन्त्रालयगत छलफल गर्ने व्यवस्था गरिने बताए। सरकार फेरिएसँगै सार्वजनिक सेवाको संस्कार पनि फेरिनुपर्ने उनको भनाइ थियो ।
लामिछानेले रास्वपा ‘मालिक बन्ने”का लागि नभई’ सेवक र सहजकर्ताहरू”को पार्टी भएको स्पष्ट पारे ।
उनले ‘हेल्लो सरकार’ प्रणालीलाई अझ प्रभावकारी बनाउँदै गुनासो व्यवस्थापनको अवस्था ट्र्याक गर्न सकिने व्यवस्था विकास भइरहेको जानकारी दिए ।
सांसदको मुख्य भूमिका कानुन निर्माण भएको उल्लेख गर्दै उनले सबै तहमा समन्वय गर्नुपर्ने तर प्रक्रियामा आफैं ‘कानुन बन्न खोज्ने’ प्रवृत्तिबाट टाढा रहन सचेत गराए । अन्तर्जातीय विवाहको बहानामा भइरहेका विभेद र दुर्घटना रोक्न पहल गर्न निर्देशन दिँदै घटनास्थलमा भावुक भई मर्यादा नबिर्सन आग्रह गरे ।
खाडी क्षेत्रमा देखिएको द्वन्द्वले बजार मूल्यमा पारेको असरबारे सरकार जानकार रहेको र यसप्रति गम्भीरतापूर्वक काम भइरहेको पनि उनले बताए ।
संगठन निर्माणमा सबै तहबाट जिम्मेवार रूपमा लाग्न उनले आग्रह गरे । सुकुम्बासी व्यवस्थापनबारे सरकारले जिम्मेवारीपूर्वक काम गरिरहेको उल्लेख गर्दै जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए।
बाढी तथा ढलको जोखिममा बस्न बाध्य नागरिकको सुरक्षित आवास सुनिश्चित गर्न विशेष आयोग गठन गरी छिटो काम अघि बढाइने उनले बताए । यस क्रममा कसैलाई घरबारविहीन नबनाइने र गास, बास, कपास तथा रोजगारीको अवसर सुनिश्चित गर्ने सरकारको दायित्व हुने उनको भनाइ थियो । यस विषयलाई अनावश्यक रूपमा राजनीतिकरण नगर्न पनि उनले चेतावनी दिए।
अध्यादेश सम्बन्धमा उनले विगतमा भएको अनावश्यक दलियकरण र गलत नियुक्ति सच्याउन आवश्यक रहेको बताए ।अध्यादेश कसैलाई लक्षित गरी ल्याइएको नभई आवश्यक सुधारका लागि कानुनी दायराभित्र रहेर प्रयोग गरिएको उनले स्पष्ट पारे ।
लोकतान्त्रिक अभ्यासप्रति पार्टीको प्रतिबद्धता संसदीय समितिहरूमा देखिएको व्यवहारले पुष्टि गर्ने उनको दाबी थियो।
संवैधानिक आयोग तथा निकायहरूमा रिक्त पदका कारण निर्णय प्रक्रियामा समस्या भइरहेको उल्लेख गर्दै उनले जनअपेक्षा अनुसार काम गर्न सक्रियता र ‘नम्र राजनीतिक आक्रामकता’ आवश्यक रहेको बताए।
लामिछानेले नियमित छलफल जारी रहने जनाउँदै जनप्रतिनिधिहरूलाई आफ्नो कर्तव्य निर्वाहका क्रममा देखिएका समस्या लिखित रूपमा राख्न आग्रह गरे। पार्टीमा प्रवेश गर्न चाहनेलाई स्वागत गरिने तर संगठनमा काम गरेर प्रमाणित गरेपछि मात्र अवसरको अपेक्षा राख्न उनले स्पष्ट पारे।









प्रतिक्रिया