
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलमा पदाधिकारीहरूको व्यापक हेरफेर गरिएको छ ।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा र प्रतिनिधि सभाका विभिन्न महत्त्वपूर्ण पदहरूमा नयाँ नियुक्ति गरेका हुन् ।
पार्टीद्वारा जारी प्रेस नोटअनुसार, राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाइएको छ । उनको स्थानमा सांसद कमला देवी पन्तलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनित गरिएको छ ।
संसदीय दलका नेता आङ्देम्बेले दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम पन्तलाई उक्त जिम्मेवारी सुम्पेका हुन् ।
यसैगरी, प्रतिनिधि सभा संसदीय दलको रिक्त उपनेता पदमा अभिषेक प्रताप शाह नियुक्त भएका छन् । उनलाई विधानको धारा ७ (१) बमोजिम उपनेता चयन गरिएको हो ।
संसदीय दलको कार्यसम्पादनलाई प्रभावकारी बनाउन भन्दै आङ्देम्बेले सचेतकहरूको टोलीमा पनि नयाँ अनुहार ल्याएका छन् । जसअनुसार प्रतिनिधि सभाको मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राई मनोनित भएका छन् । उनीहरूलाई विधानको धारा १३ को उपधारा (२) र (३) बमोजिम नियुक्त गरिएको प्रेस नोटमा उल्लेख छ ।
२०८३ वैशाख १६ गते जारी गरिएको उक्त निर्णयसँगै नेपाली कांग्रेसले सदनमा आफ्नो उपस्थिति र भूमिकालाई नयाँ नेतृत्वमार्फत अघि बढाउने संकेत गरेको छ । नवनियुक्त पदाधिकारीहरूलाई पार्टीले संसदीय गतिविधिमा थप सक्रिय हुन निर्देशन समेत दिएको छ ।









प्रतिक्रिया