हिमाली जिल्ला मुस्ताङ: एक प्रतिशत भूमि नै स्थानीय अर्थतन्त्रको आधार

वार्षिक डेढ अर्बभन्दा बढीको स्याउ र आलु उत्पादन


मुस्ताङ (जोमसोम) । हिमाली जिल्ला मुस्ताङको कुल क्षेत्रफलको एक प्रतिशत भूमिमा मात्र कृषि कर्म हुन्छ । त्यही एक प्रतिशत भूमि मुस्ताङको अर्थतन्त्रको आधार बन्दै गएको पाइएको छ ।

पाँचवटा स्थानीय निकाय भएको मुस्ताङको कुल क्षेत्रफल ३ लाख ६३ हजार ९५८ हेक्टर छ । त्यसमध्ये ३ हजार ६३९ हेक्टरमा मात्र कृषि कर्म हुँदा पनि मुस्ताङको अर्थतन्त्र सुधारको आधार बन्दै गएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङको तथ्याङ्क छ ।

जिल्लाको कुल क्षेत्रफलको एक प्रतिशत भूमि अर्थात् ३ हजार ६३९ हेक्टरमा मात्र कृषि कर्म हुँदा त्यसको ९९ प्रतिशत क्षेत्रमा स्याउ र आलुको खेती हुन्छ । बाँकी जमिनमा स्थानीय रैथाने बाली फापर, जौ, ओखर, डालेचुक र उवाको खेती हुन्छ ।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका सूचना अधिकारी शिवगणेश चौधरी कुर्मीले १ प्रतिशत जनिमनमा वार्षिक डेढ अर्बभन्दा बढी मूल्यको स्याउ र आलु उत्पादन हुँदै आएको बताए ।

‘त्यो जमिनमा वार्षिक डेढ अर्बभन्दा बढी मूल्यको स्याउ र आलु उत्पादन हुँदै आएको छ,’ उनले क्लिकमान्डुसँग भने, ‘त्यस बाहेक मुस्ताङमा ओखर, जौ, डालेचुक, फापर र उवा पनि वार्षिक करोडौँको मूल्य बराबरको उत्पादन हुँदै आएको छ ।’

१४ हजार ४५२ जनसङ्ख्या रहेको मुस्ताङको घरपझोङ, वारागुङ मुक्तिनाथ र लो–घेकर दामोदर, थासाङ र लोमान्थाङ गाउँपालिका सबै स्याउ खेतीका लागि पकेट क्षेत्र अर्थात् स्याउ जोनका रूपमा विकसित भएको चौधरीको भनाइ छ ।

मुस्ताङमा ८३७ हेक्टरमा स्याउ खेती हुँदै आएको छ । त्यसमध्ये ५७२ हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्र छ ।

चालु वर्ष स्थानीय रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड डेलिसियस र फुजी जातका स्याउ ७८ करोड ८९ लाख ७० हजार मूल्य बराबरको ५ हजार २५९ टन उत्पादन भएको थियो । त्यसमध्ये ७१ करोड ७३ लाख मूल्यको ४७३३ टन स्याउ जिल्ला बाहिर निकासी भएको तथ्यांक कृषि कार्यालयको छ ।

त्यसैगरी उन्नत जातका स्याउ गालामेला, रेड डेलिसियस, किङरोट, फुजी के कु फुब्रिक्स, गोल्डेन मेमा डेलिसियस, विल्टन्स स्टार र रेड जोना प्रिन्स जातका स्याउ ३१ करोड ३४ लाख मूल्यका १ हजार ४२४ टन उत्पादन हुँदा २८ करोड २० लाख ६० हजार मूल्यको १२८२ टन स्याउ जिल्ला बाहिर निकासी भएको थियो ।

यहाँ उत्पादित स्याउको मुख्य बजार पोखरा, काठमाडौं, नारायणगढ, बुटवल लगायतका ठूला सहर हुन् ।

मुस्ताङलाई सडक सञ्जालले जोडेपछि यसबेला यहाँ उत्पादित स्याउलाई बजारको अभाव छैन । कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालले भने, ‘मुस्ताङमा सडक पुगेपछि व्यापारी आएर किसानको बारीमै पुगेर स्याउ टिप्नु पहिला नै खरिद गर्ने गरेका छन् ।’

उनका अनुसार व्यापारीले किसानको बारीमा स्थानीय जातको स्याउ प्रतिकिलो १५० देखि १८० रुपैयाँ र उन्नत जातको स्याउ प्रतिकिलो २ सयदेखि २५० रुपैयाँसम्ममा किन्ने गरेका छन् । त्यही स्याउ तराईका ठूला बजारमा प्रतिकिलो अढाई सय र उन्नत जातको प्रतिकिलो साढे तीन सयदेखि ४ सयसम्ममा बिक्री हुने गरेको छ ।

सडक सञ्जाल नपुग्दा यहाँको स्याउ किसानको बारीमै कुहिएर जान्थ्यो । ‘त्यसबेला बजार नपाउँदा किसान स्याउको सुकुटी बनाउने र रक्सी बनाउन बाध्य थिए,’ उनले भने, ‘अहिले सडक सञ्जालले मुस्ताङ समेटिएपछि किसानलाई स्याउको माग धान्नै गाह्रो भएको अवस्था छ ।’

पूर्वको ओखलढुंगाबाट मुस्ताङ आएर दशकदेखि व्यवसाय गर्दै आएका शुक्रबहादुर श्रेष्ठले सिजनमा एकै दिनमा ५० हजारसम्मको स्याउ बिक्री गर्दै आएका छन् । अफ सिजनमा स्याउको सुकुटी, रक्सी, ओखर, दलहनको व्यापारले परिवारको गुजारा चल्दै आएको उनी बताउँछन् ।

७७ जिल्लामध्ये मुस्ताङ आफैँमा अनौठो छ । कार्यालय प्रमुख अर्यालका अनुसार स्याउको मुख्य सिजन भदौ, असोज, कात्तिक र मंसिर हो । त्यसबेला यहाँका किसानको खेतबारीमा व्यापारी धर्ना नै दिएर बस्छन् । यहाँ तीन प्रकारका स्याउ उत्पादन हुन्छ: छिटो पाक्ने, मध्यम पाक्ने र ढिलो पाक्ने । ‘ती कुनै पनि स्याउ बिक्री गर्न किसानलाई यसबेला समस्या छैन,’ अर्यालले भने, ‘व्यापारीले बारीमै बैना गर्छन् ।’

मुस्ताङमा कृषि फर्म, कृषक समूह र सहकारी संस्थासहित १९२ वटा समूहले स्याउ र आलुको व्यावसायिक खेती गर्दै आएको तथ्यांक छ ।

मुस्ताङलाई स्याउको राजधानीका रूपमा समेत चिनिन्छ । यहाँ उत्पादित स्याउ स्वादिलो, रसिलो र गुणस्तरीय हुने भएकाले देशभर माग बढ्दो छ । विशेष गरी मार्फा, टुकुचे, जोमसोम र कागबेनी क्षेत्र स्याउ उत्पादनका लागि प्रसिद्ध छन् ।

स्थानीय किसानहरूका अनुसार चिसो हावापानी र न्यून प्रदूषणका कारण मुस्ताङको स्याउ अन्य ठाउँको तुलनामा बढी स्वादिष्ट मानिन्छ ।

यही कारणले यहाँको स्याउ बजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको छ । उत्पादित स्याउमध्ये करिब ९० प्रतिशत जिल्ला बाहिर बिक्री हुने गरेको छ भने बाँकी स्थानीय उपभोगमा खपत हुन्छ ।

मुस्ताङमा करिब दुई प्रतिशतमात्र जग्गा नापी भएको र बाँझै रहेको ऐलानी खेतीयोग्य जग्गा किसानलाई लिजमा दिन सकिए स्याउ र आलु खेती दोब्बर बढ्ने अर्याल बताउँछन् ।

‘स्याउको माग धान्नै गाह्रो छ,’ अर्यालले थपे, ‘मुस्ताङको कुल क्षेत्रफलमध्ये करिब दुई प्रतिशत मात्र नापी भएको छ । त्यसमध्ये एक प्रतिशत जमिन मात्र किसानको नाममा छ । त्यही जमिनमा मात्र स्याउ र आलु खेती हुँदै आएको छ । मुस्ताङको बाँकी सबै क्षेत्रफल ऐलानी रहँदा खेतीयोग्य जमिन पनि बाँझै छ । सरकारले मुस्ताङको ऐलानी जमिन नापी गरेर स्याउ र आलु खेतीका लागि किसानलाई लिजमा उपलब्ध गराउने हो भने स्याउ र आलु खेती दोब्बर बढ्ने स्थिति रहेको छ ।’

त्यस्तै, मुस्ताङमा आलु खेती पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ । हाल जिल्लामा करिब ४७८ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ ।

वार्षिक उत्पादन करिब ९ हजार ६ सय ६५ मेट्रिक टन रहेको छ । यसको कुल बजार मूल्य करिब ६२ करोड ८० लाख रुपैयाँ बराबर रहेको कृषि कार्यालयको तथ्यांक छ ।

मुस्ताङको आलु स्वादिलो र लामो समयसम्म टिक्ने भएकाले बजारमा यसको माग स्थिर रहेको छ । उत्पादन भएको आलुमध्ये करिब ६० प्रतिशत जिल्ला बाहिर बिक्री हुने गरेको छ भने ३० प्रतिशत स्थानीय उपभोगमा र बाँकी १० प्रतिशत बीउका रूपमा प्रयोग गरिन्छ ।

सूचना अधिकारी चौधरीका अनुसार व्यापारीले यहाँको आलु किसानको बारीमै पुगेर प्रतिकिलो ६५ देखि ८० रुपैयाँसम्ममा किन्ने गरेका छन् ।

सडक सञ्जाल पुगेपछि कृषि क्षेत्रमा देखिएको यो सकारात्मक प्रगतिले मुस्ताङका किसानहरूको जीवनस्तरमा सुधार ल्याएको छ । परम्परागत खेती प्रणालीबाट व्यावसायिक कृषितर्फ उन्मुख हुँदै किसानहरूले आधुनिक प्रविधि अपनाउन थालेका छन् ।

ड्रिप सिँचाइ, उन्नत बिरुवा, रोग व्यवस्थापन र बजार पहुँचका कारण उत्पादन वृद्धि भएको कृषि विज्ञहरू बताउँछन् । तर जलवायु परिवर्तन, बेमौसमी वर्षा, असिना र चिसो हावाका कारण कहिलेकाहीँ बालीमा क्षति पुग्ने गरेको किसानहरूको गुनासो छ ।

साथै, भण्डारण र प्रशोधन सुविधाको अभाव यहाँका किसानको प्रमुख समस्या मानिएको छ । मुस्ताङमा ५ वटा भण्डारण केन्द्र छन्, जसमा ३१७ टन मात्र भण्डारण क्षमता छ ।

स्थानीय तह र प्रदेश सरकारले स्याउ र आलु खेतीलाई प्राथमिकतामा राख्दै विभिन्न सहयोग कार्यक्रम सञ्चालन गरिरहेका छन् । किसानलाई अनुदानमा बिरुवा, बीउ, मल तथा प्राविधिक तालिम उपलब्ध गराउने काम भइरहेको छ । उत्पादन सङ्कलन र बजारीकरणलाई व्यवस्थित बनाउन सहकारीमार्फत पहल गरिँदै छ ।

मुस्ताङमा स्याउ र आलु खेतीलाई अझ व्यवस्थित गर्दै भण्डारण, प्रशोधन र ब्रान्डिङमा जोड दिन सके यस क्षेत्रलाई कृषि निर्यात केन्द्रका रूपमा विकास गरिए स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने मात्र नभएर राष्ट्रिय अर्थतन्त्रमा समेत मुस्ताङको महत्त्वपूर्ण योगदान रहने मुस्ताङलाई नजिकबाट चिन्ने कृषि विशेषज्ञ डा. राजेन्द्र उप्रेतीको बुझाइ छ ।

पछिल्लो समय मुस्ताङमा स्याउ र आलु खेती केवल जीविकोपार्जनको माध्यम मात्र नभई पहिचान र सम्भावनाको प्रतीक बनेको उप्रेतीको भनाइ छ । ‘समय सापेक्ष योजना, लगानी र उचित व्यवस्थापन गरेर मुस्ताङलाई मुलुककै कृषि विकासको नमुना क्षेत्रका रूपमा विकास गर्न सकिन्छ,’ उनले भने ।

तस्बिर सौजनय: कृषि तथा पशु विकास कार्यालय मुस्ताङ

Skip This