ग्लोबल आइएमई बैंकले कमायो ४ अर्ब ४० करोड नाफा, लाभांश क्षमता १०.५०%

679
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा गरेको बैंकको नाफामा २.९३ प्रतिशतको सामान्य गिरावट देखिएको छ ।

ग्लोबल आइएमई बैंकले जोखिम व्यवस्थापनलाई विशेष प्राथमिकता दिँदै खुद निष्क्रिय कर्जामा उल्लेख्य सुधार गरेको देखिन्छ । अधिक तरलता र बजारको न्यून ब्याजदरका कारण आधार दरमा उल्लेख्य गिरावट आए पनि कर्जा विस्तार र सुदृढ प्रोभिजनिङले बैंकको वित्तीय स्वास्थ्यलाई थप सुरक्षित र मजबुत बनाएको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ३१ करोडबाट ७१ लाख रुपैयाँबाट घटेर ११ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ कायम भएको छ भने खुद फि एन्ड कमिसन आम्दानी २ अर्ब ३१ करोड १८ लाख रुपैयाँबाट बढेर २ अर्ब ६० करोड ७१ लाख रुपैयाँ पुगेको छ । यसैगरी बैंकको सञ्चालन नाफा ५ अर्ब ९० करोड ४६ लाख रुपैयाँ रहेको छ।

बैंक ९ महिनाको अवधिमा कर्जा विस्तारमा आक्रामक देखिएको छ । असार मसान्तसम्म ४ खर्ब १० अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले चैत मसान्तसम्म कर्जा बढाएर ४ खर्ब ३९ अर्ब ४ करोड रुपैयाँ पुर्‍याएको छ । त्यस्तै निक्षेप संकलन ५ खर्ब ५० अर्ब ६२ करोडबाट बढेर ६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकको स्प्रेड दर ३.३० प्रतिशत रहँदा आधार दर ६.३८ प्रतिशतबाट घटेर ४.९५ प्रतिशतमा झरेको छ । यसैगरी निक्षेपको औसत लागत (कस्ट अफ फन्ड) ४.६५ प्रतिशतबाट घटेर ३.५८ प्रतिशत कायम भएको छ ।

ग्लोबल आइएमई बैंकको वित्तीय विवरणमा राम्रो पक्ष जोखिम व्यवस्थापन देखिएको छ । बैंकको निष्क्रिय कर्जा ४.९७ प्रतिशत छ । गत आवको सोही अवधिमा बैंकको यस्तो कर्जा ४.९८ प्रतिशत थियो । खुद निष्क्रिय कर्जा भने अघिल्लो वर्षको १.७० प्रतिशतबाट उल्लेख्य रूपमा घटेर ०.६९ प्रतिशतमा झरेको छ ।

बैंकको निष्क्रिय कर्जाको अनुपातमा जोखिम व्यवस्था कति बलियो छ भन्ने सूचक ‘टोटल लोन लस प्रोभिजन टु टोटल एनपीएल’ हेर्दा ११७.०७ प्रतिशत पुगेको छ, जसको अर्थ बैंकसँग खराब कर्जाको तुलनामा १७ प्रतिशत बढी प्रोभिजनिङ रकम सुरक्षित छ ।

यस अवधिमा बैंकको पुँजी पर्याप्तता अनुपात १२.०६ प्रतिशत र प्राथमिक पुँजी अनुपात ९.७१ प्रतिशत रहेको छ । बैंकको सीडी रेसियो ७१.१३ प्रतिशत रहेको छ, जसले बैंकसँग थप करिब ९० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गर्न सक्ने पर्याप्त तरलता रहेको देखाउँछ । यद्यपि पुँजी पर्याप्तताका कारण सबै तरलताबाट कर्जा प्रवाह नहुन सक्छ ।

यसैगरी प्रतिसेयर आम्दानी १५.४० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७८.५३ रुपैयाँ र आरओई ८.७१ प्रतिशत रहेको छ ।

बैंकको ९ महिनाको नाफा ४ अर्ब ४० करोडमध्ये वितरणयोग्य नाफा १ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ छ । गत आवको सञ्चित नाफासमेत जोड्दा कुल रिटेन्ड अर्निङ ३ अर्ब ५५ लाख रुपैयाँ कायम भएको छ । बैंकको हालको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँको आधारमा बैंकको वार्षिकिकृत लाभांश क्षमता करिब १०.५० प्रतिशत देखिन्छ ।