शेखर गोल्छाविरूद्ध अनुसन्धान गर्न ३ दिन म्याद थप

441
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छाविरूद्ध अनुसन्धान गर्न थप ३ दिनको म्याद दिएको छ । अदालतले सोमबार गोल्छालाई थप ३ दिन थुनामा राख्न अनुमति दिएको हो।

गोल्छा गत बिहीबार पक्राउ परेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गोल्छालाई नक्सालबाट पक्राउ गरेको थियो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवदेनको आधारमा गोल्छालाई पक्राउ गरी ४ दिन म्याद थपेर अनुसन्धान भइरहेकामा गोल्छा थप ३ दिन सीआईबी नियन्त्रणमा बस्ने भएका हुन्।

हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छासमेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा १ र दफा ९८ बमोजिम कसुरमा उक्त ऐनको दफा १०३ को उपदफा ३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन २०८३ ब्यूरोमा प्राप्त भएपछि वैशाख १० गते काठमाडौं जिल्ला अदालतले पक्राउ अनुमति दिएपछि गोल्छालाई पक्राउ थियो ।

के हो आरोप ?

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको सेयर कारोबारको विषयमा सहयोग गरेको अभियोगमा गोल्छालाई प्रहरीले पक्राउ गरेको हो ।

हिमालय रि इन्स्योरेन्सको रकम दुरुपयोग गरि दीपक भट्ट, सुलभकी श्रीमती सुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरको व्यक्तिगत नाममा सेयर किनेर त्यसलाई राफसाफ गर्ने कार्यमा सहयोग गरेको आरोप गोल्छामाथि नेपाल धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनले लगाएको थियो ।

गोल्छा हिमालयन रि इन्स्योरेन्सका तत्कालीन अध्यक्ष हुन् । हिमालय रि इन्स्योरेन्सको २ अर्ब ७३ करोड रुपैयाँ बक्यौता रहेको अनुसन्धानमा देखिएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)को ‘दिपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’ले दीपक भट्टलाई गैरकानुनी काम गर्न गोल्छाले सहयोग गरेको भनेर उल्लेख गरेको थियो । ‘शेखर गोल्छा, रोहित गुप्ता, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन रि, हिमालयन क्यापसर्वले भृकुटी स्टकबाट रकम लिन बाँकी भएको अवस्थामा समेत थप रकम जम्मा गरेको तथा धितोपत्र बिक्री बापतको रकम नलिएको देखिन्छ,’ धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनमा भनिएको छ ।